नेवार समुदायको महान पर्वमध्ये एक मानिने ऐतिहासिक भिमसेन जात्रा आइतबार वीरगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ।
बिर्तामाई मन्दिर प्रांगणबाट परम्परागत बाजागाजा र “लियो लियो, पायो पायो” नारासहित सुरु भएको यो जात्रा नगर परिक्रमा गर्दै गहवामाई मन्दिर, माईस्थान हुँदै पुनः विर्तामाई मन्दिरमा फर्केर समापन गरिएको हो।
नेवा देय् दबु वीरगञ्ज महानगर कमिटीका अध्यक्ष सत्यम खड्गीका अनुसार, भिमसेन जात्राले नेवार समुदाय मात्र नभई सम्पूर्ण वीरगञ्जवासीलाई धार्मिक आस्था, सांस्कृतिक विविधता र सामुदायिक एकताको सन्देश दिने गर्दछ।
भिमसेनलाई नेवार समुदायले व्यापार, समृद्धि र शक्तिका देवता मान्ने परम्परा रहेको छ। त्यसैले हरेक वर्ष भाद्र १ गते आयोजना हुने यस जात्रामा पूजा–अर्चना, भजन–कीर्तन, धिमे बाजा, नाचगान र विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने चलन रहँदै आएको छ।
यसपटकको जात्रामा वीरगञ्जका विभिन्न टोल, बस्तीका नेवार समुदाय मात्र नभई अन्य समुदायका श्रद्धालुहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो। भक्तजनहरूले मठ–मन्दिरमा पुजा अर्चना गर्दै भिमसेन देवताको प्रसाद ग्रहण गरेका थिए।
नेवार समुदायको सहभागितामा आयोजित यस भव्य पर्वले शहरलाई सांस्कृतिक रंगमा रंग्याएको छ भने धार्मिक सहिष्णुता र सामुदायिक सद्भावको स्पष्ट सन्देश दिएको सहभागीहरूले बताएका छन्।









