नेपाल नेत्रज्योति संघ पर्साले जिल्ला प्रहरी कार्यालयलाई प्रहरीका आँखालाई सूर्यको किरणबाट सुरक्षित राख्ने उद्देश्यले सनग्लास हस्तान्तरण गरेको छ।
संघका सभापति भगवती चौधरी र केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र र जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्टलाई सामग्री हस्तान्तरण गरेको हो।
संघका सचिव शिताराम उपाध्यायका अनुसार, “दिनभर घाममा खटिएर जनताको सुरक्षामा जुट्ने प्रहरीलाई आँखा सुरक्षित राख्न सहयोग पुर्याउने उद्देश्यले चस्मा प्रदान गरिएको हो।”
सहयोग ग्रहण गर्दै एसपी मिश्रले नेत्रज्योति संघ परिवारलाई धन्यवाद ज्ञापन गर्दै प्रहरीहरूको स्वास्थ्य सुरक्षाका लागि गरिएको योगदानलाई प्रशंसनीय बताए।
संघका सदस्य राजन श्रीवास्तवले यस अभियानले प्रहरीलाई दैनिक ड्युटीमा ठूलो राहत र सहयोग पुग्ने अपेक्षा गरिएको बताए।
नेत्रज्योति संघले यसअघि पनि आँखासम्बन्धी जनचेतनामूलक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर र विभिन्न सामाजिक सहयोग गर्दै आएको छ।









