लायन्स क्लब अफ सेन्ट्रल सिटी र नवदीप एकेडेमीको संयुक्त आयोजनामा “रमाईलो तीज तथा दर खाने कार्यक्रम” बुधबार वीरगञ्जस्थित होटल विश्वामा भव्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ सेन्ट्रल सिटीकी अध्यक्ष एवं नवदीप एकेडेमीकी सञ्चालक श्रीमती सुशिला साहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा डिस्ट्रिक डिपार्टमेन्ट चिफ श्रीमती मिना टिबडेवालको आतिथ्यमा सम्पन्न भएको थियो। त्यसैगरी विशिष्ट अतिथिमा सञ्चारकर्मी जगत राई, नवदीप एकेडेमीकी कोर्डिनेटर गीता साहसहितका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा लायन्स क्लब अफ सेन्ट्रल सिटीका पदाधिकारी, महिला सदस्य, स्कुलकी शिक्षिका तथा महिला अभिभावकहरूको बाक्लो सहभागिता देखिएको थियो। उपस्थित अतिथिहरूले तीज पर्वको सांस्कृतिक महत्त्वबारे शुभकामना मन्तव्य राख्दै महिलालाई समर्पित यस पर्वलाई सामाजिक एकता, आपसी सद्भाव र भाईचाराको प्रतिकका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमलाई झनै आकर्षक बनाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो। स्वादिष्ट खानेकुरासँगै महिलाहरूले रमाइला नृत्य प्रस्तुत गरेका थिए। साथै महिलाहरूमाझ बेलुन गेमलगायत विभिन्न खेलहरू सञ्चालन गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई पुरस्कार पनि प्रदान गरिएको थियो।
कार्यक्रमलाई नवदीप एकेडेमीकी शिक्षिका नेहा अग्रवालले सञ्चालन गर्नुभएको थियो।यस भव्य तीज तथा दर खाने कार्यक्रमले महिलामाझ उत्साह, उल्लास र पारस्परिक मित्रतामा अझै गहिरो सम्बन्ध स्थापित गरेको सहभागीहरूको धारणा रहेको छ।









