लायन्स इन्टरनेशनल, डिष्ट्रिक ३२५ एस, एरिया–३ द्वारा आयोजित Induction & Installation Ceremony २०२५ अगस्ट २१ (२०८२ साउन ५) मा गण्डकस्थित क्लार्क होटलमा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ । कार्यक्रममा नयाँ सदस्यहरूको स्वागत (Induction) तथा नव–निर्वाचित पदाधिकारीहरूको पदस्थापन (Installation) सम्पन्न गरिएको थियो ।
समारोहका मुख्य अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पर्साका प्रहरी उपरीक्षक श्री गौतम मिश्र र भारतीय दूतावासका कन्सुल जनरल श्री डी.एस. मीना (सीजी) उपस्थित हुनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा डिष्ट्रिक गभर्नर लायन विनय बस्नेत, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर लायन रामबिहारी पाण्डे, केबिनेट सचिव लायन सर्जन चापागाईं, केबिनेट कोषाध्यक्ष लायन चन्द्रबहादुर केसी, डा. रमेश अग्रवाल, आर.के. सिन्धी, डा. रामावतार खेतान, डिएन अग्रवाल, वासु तिमलसिना, रीकैश साह, विजय ओझैया, श्याम गुप्ता, रामेश्वर प्रसाद गुप्ता लगायत विभिन्न वरिष्ठ लायन लिडरहरूको उल्लेखनीय उपस्थिती थियो ।
समारोहमा २७ वटा क्लबका अध्यक्ष र सदस्यहरू गरी करिब २७० जना सहभागी भएका थिए । सभाहल अतिथिहरूको उपस्थिति, सदस्यहरूको उत्साह, र कार्यक्रमको भव्यताले भरिपूर्ण बनेको थियो ।
मुख्य अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफ्नो मन्तव्यमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्वमा पु¥याएको योगदानको प्रशंसा गर्दै निरन्तर समाजको आवश्यकता अनुसार काम गर्न आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि प्रहरी उपरीक्षक गौतम मिश्रले शान्ति र विकासका लागि नागरिक संस्थाहरूको सहकार्य अपरिहार्य हुने बताउनुभयो भने भारतीय दूतावासका कन्सुल जनरल डी.एस. मीना (सीजी) ले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई बलियो बनाउन यस्ता साझा कार्यक्रममा सहभागिता महत्त्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी डिष्ट्रिक गभर्नर विनय बस्नेतले “साना काम, ठूलो फरक” भन्ने नारालाई आत्मसात गर्दै सेवा यात्रालाई अझ व्यापक र प्रभावकारी ढङ्गले अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।









