२०८२ चैत्र ७ गते शनिबार

नेशनल इन्फोटेक कलेजद्वारा बारा जिल्ला क्रिकेट संघलाई प्रायोजन

 

वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेज (एनआई)ले बारा जिल्ला क्रिकेट संघलाई प्रायोजन गरेको छ। गण्डकस्थित क्लर्क रिसोर्टमा शुक्रबार एक विशेष समारोहबीच प्रायोजन सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा नेशनल इन्फोटेक कलेजका निर्देशक मनिश सिंह र बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार कलेजले बारा जिल्ला क्रिकेट संघलाई आवश्यक जर्सी, खेल सामाग्री तथा आर्थिक सहयोग गर्नेछ। साथै, बाराका खेलाडीहरूले एनआईको लोगो अंकित पोशाक प्रयोग गर्नेछन्। उक्त सम्झौता हाल एक वर्षका लागि हुने जनाइएको छ।

‘साइनिङ सेरेमनी’मा नेपाली क्रिकेटका दुई हस्ती, पूर्वकप्तानद्वय पवन अग्रवाल र विनोद दासको विशेष उपस्थिती रहेको थियो। दासले छोटो सहयोगले पनि खेल क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै, एनआईको प्रायोजनले बाराका क्रिकेट खेलाडीहरूलाई थप उत्साह र प्रेरणा मिल्ने बताए।

त्यस्तै, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठले मधेश प्रदेश देशकै उत्कृष्ट क्रिकेट खेलाडी उत्पादन गर्ने प्रदेश रहेको बताउँदै बारा जिल्लाका खेलाडीहरू योग्य र सम्भावनाशाली भएको टिप्पणी गरे। उनले यस्तो प्रायोजनले अन्य जिल्लालाई समेत प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा एनआईको लोगो सहितको नयाँ जर्सी सार्वजनिक गरिएको थियो। सो अवसरमा सुभाष जयसवाल, जितेन्द्र यादव, राष्ट्रिय खेलाडीहरू अनिल साह, पवन सर्राफ, साहिल पटेल, अरनिको यादव, नेशनल इन्फोटेक कलेजका सयौं विद्यार्थी तथा संचारकर्मीको समेत उपस्थिती रहेको थियो।

यस प्रायोजनसँगै बारा जिल्ला क्रिकेट संघलाई नयाँ उर्जा र संरचनागत मजबुती प्राप्त हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM