२०८२ चैत्र ७ गते शनिबार

पर्सा जिल्लामा भूमिहीन र सुकुम्बासीलाई जग्गाको लालपूर्जा वितरणको बाटो खुलेको

 

पर्सा जिल्लामा भूमिहीन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासी ४३ जनालाई जग्गाको लालपूर्जा वितरणका लागि भुमि समस्या समाधान आयोग पर्साले अन्तिम नामावली प्रमाणीकरण गरेको छ।

आयोगको शुक्रबार बसेको बैठकले पहिलो चरणमा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १, सथवलका ४३ जनाको नामावली प्रमाणीकरण गरेको हो। आयोगका अध्यक्ष तबरेज अहमदले जानकारी दिए अनुसार, ती ४३ जनाको सबै कागजी प्रक्रिया पूरा भएपछि नामावली प्रमाणीकरण गरिएको हो।

यस अवसरमा आयोगका सदस्य सचिव दीपक कुमार सिंहले बताए कि प्रमाणीकरण भएका व्यक्तिहरूलाई आगामी आइतबार लालपूर्जा प्राप्तिका लागि थप कागजी प्रक्रिया पूरा गर्न ७ दिने सूचना जारी गरिनेछ। यससँगै जिल्लाका दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीका लागि जग्गा वितरणको बाटो खुलेको अध्यक्ष यादवले बताए।

बैठकमा प्रमुख सहभागीहरूमा जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकार विनय श्रीवास्तव, आयोगका विज्ञ सदस्य सन्तोष पासवान, सदस्य शीव नारायण राम, आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख दीपक सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि दीपक पटेल, मालपोत कार्यालय वीरगन्जका नापी प्रमुख लगायत अन्य अधिकारीहरूको उपस्थिती रहेको थियो।

यो कदम पर्सा जिल्लाका भूमिहीन र सुकुम्बासी समुदायका लागि आवासीय सुरक्षासँगै समाजिक न्यायको सुनिश्चिततातर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM