वीरगञ्ज तेक्वान्दो डोजाङ्गका वरिष्ठ खेलाडी आफताब आलमले आज सम्पन्न राष्ट्रिय टोली छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै आगामी अन्तर्राष्ट्रिय तथा विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गरेका छन्।
नेपाली सेनाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका आलमले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत सेनाको मात्र नभई सम्पूर्ण नेपालको गौरवलाई उच्च बनाएका छन्।
उनको यस उल्लेखनीय सफलतापछि वीरगञ्ज तेक्वान्दो डोजाङ्गले हार्दिक बधाई ज्ञापन गर्दै गर्वको अनुभूति व्यक्त गरेको छ।डोजाङ्गका प्रमुख प्रशिक्षक ४ ड्यान ब्ल्याक बेल्ट तथा एशियन प्लेयर महमद वेशले भने,“आफताब आलमले पाएको सफलता हाम्रो संस्थामात्र नभई समग्र वीरगञ्जको प्रतिष्ठा हो। उनको कठोर मेहनत, अनुशासन र समर्पण सम्पूर्ण नयाँ पुस्ताका खेलाडीका लागि प्रेरणादायी बनेको छ।”
आफताब आलमले अब अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउने अवसर पाएका छन्। डोजाङ्ग परिवारले उनको आगामी खेल यात्राका लागि शुभकामना व्यक्त गर्दै, अन्तर्राष्ट्रिय मञ्चमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।
स्थानीय खेलप्रेमीहरूका अनुसार, आलमको यो सफलता वीरगञ्जका अन्य युवाहरूमाझ खेलकुदप्रति रुचि बढाउने महत्त्वपूर्ण प्रेरणा बन्नेछ।
उनले कठोर अभ्यास, आत्मअनुशासन र दृढ इच्छाशक्तिको माध्यमबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
वीरगञ्ज तेक्वान्दो डोजाङ्गको सम्पूर्ण परिवारले आफताब आलमलाई हार्दिक बधाई ज्ञापन गर्दै, अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई अझ गौरवान्वित बनाउन निरन्तर सफलताको कामना गरेको छ। सोको जानकारी वीरगञ्ज तेक्वान्दो डोजाङ्गका प्रमुख महम्द सकिलले दिएका थिए।









