नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको पहलमा आज पथलैयामा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।
छलफल कार्यक्रम कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरा बाराका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा तथा पर्साका प्रमुखहरू, उद्योग वाणिज्य संघ पर्सा, जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारी, पथलैया–वीरगञ्ज औद्योगिक करिडोर क्षेत्रका उद्योग प्रतिनिधि, ट्रान्सपोर्ट एसोसिएसन वीरगञ्जका अध्यक्ष तथा प्रतिनिधिहरू, खुद्रा ढुवानी संघ वीरगञ्जका पदाधिकारी, साथै यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रतिनिधिहरू सहभागी थिए।
छलफलमा हाल वीरगञ्ज भन्सार एकीकृत जाँच चौकी (ICP/ड्राईपोर्ट)देखि बाराको औद्योगिक करिडोरसम्म मालसामान ढुवानी गर्ने क्रममा मालवाहक सवारी साधनहरू रोकिएको विषयमा गम्भीर बहस गरिएको थियो।
उद्योगी व्यवसायी, ढुवानी संघका प्रतिनिधिहरू र प्रहरी प्रशासनबीच आपसी समन्वय गरी मालवाहक सवारीसाधनहरू सजिलैसँग आवागमन हुने वातावरण बनाउनुपर्नेमा छलफल केन्द्रित भएको छ।
कार्यक्रममा सहभागीहरूले औद्योगिक उत्पादन ढुवानीमा देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई आह्वान गर्दै उद्योगमैत्री वातावरण सुनिश्चित गर्न राज्य संयन्त्र सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।









