२०८२ चैत्र ६ गते शुक्रबार

ब्रह्माकुमारी संस्थाकी पूर्व प्रमुख प्रशासिका डा. प्रकाशमणी दादीको १८औं पुण्य स्मृति दिवस तथा विश्व बन्धुत्व दिवस वीरगञ्जमा श्रद्धाञ्जली कार्यक्रमसहित सम्पन्न

 

अन्तर्राष्ट्रिय ब्रह्माकुमारी संस्थाकी पूर्व प्रमुख प्रशासिका राजयोगिनी डा. प्रकाशमणी दादीको १८औं पुण्य स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा आज वीरगञ्जको ओम् शान्ति भवन सभागृहमा श्रद्धाञ्जली तथा योग साधना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम ब्रह्माकुमारी रविना दिदीको अभिभावकत्वमा आयोजित भएको हो। सहभागीहरूले दादीले आफ्ना आध्यात्मिक, चारित्रिक तथा मानवीय मूल्यहरूद्वारा मानव जीवन र विश्व समुन्नतिका लागि पुर्‍याउनुभएको विशद योगदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै, समाज, राष्ट्र र विश्वमा शान्ति, सद्भाव, विश्वबन्धुत्व र अमनचयनको पवित्र संकल्प गरेका थिए।

डा. प्रकाशमणी दादी करिब १२ वर्षकै उमेरमा ब्रह्माकुमारी संस्थामा प्रवेश गरी जीवनभर अपरिमित त्याग, तपस्या, सात्विकता र दिव्य व्यक्तित्वद्वारा करुणा, दया, अहिंसा र विश्वबन्धुत्वको सन्देश विश्वका १३३ भन्दा बढी मुलुकमा फैलाउनुभएको थियो। उहाँले आफ्नो जीवनकालमा नेल्सन मण्डेला, पुज्य दलाई लामा, मदर टेरेसा, इन्दिरा गान्धी, राजीव गान्धी, नेपालका राजा वीरेन्द्र, राष्ट्र सन्त योगी नरहरिनाथ, जगद्गुरु शंकराचार्य लगायत सयौँ आध्यात्मिक र धार्मिक व्यक्तित्वसँग अन्तरक्रिया गर्दै “सबै आध्यात्मिक हस्तीहरूकी ठूली दिदी” को उपमा प्राप्त गर्नुभएको थियो।

भारत, नेपाल, श्रीलंका, अमेरिका, बेलायत, जापान, अरब, दुबई लगायत अनेकौँ मुलुकबाट समेत सम्मानित हुनुभएको दादीलाई संयुक्त राष्ट्र संघले पनि अन्तर्राष्ट्रिय शान्तिदूत पुरस्कार प्रदान गरेको थियो।सन् २००७ अगस्ट २५ मा दादीले महाप्रयाण गर्नुभएको दिनलाई हरेक वर्ष विश्व बन्धुत्व दिवसका रूपमा मनाइन्छ।

यस वर्ष पनि यही अवसर पारेर रगत अभाव पूर्ति गरी मानवताको सेवामा योगदान पुर्‍याउने संकल्पसहित भारत, नेपाल तथा अन्य मुलुकहरूमा २२ अगस्टदेखि २५ अगस्टसम्म १०० घण्टासम्म निरन्तर विशाल अन्तर्राष्ट्रिय रक्तदान शिविर आयोजना गरिएको छ। यस अभियानमार्फत १ लाख पिन्ट रगत संकलन गरी विश्व कीर्तिमान कायम गर्ने लक्ष्य रहेको र सो लक्ष्य लगभग पूरा भइसकेको आयोजकहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM