२०८२ चैत्र ६ गते शुक्रबार

समाजवादी प्रेस संगठन नेपाल पर्साद्वारा चौथो स्थापना दिवसमा प्रभातफेरी र कोणसभा सम्पन्न

 

समाजवादी प्रेस संगठन नेपाल पर्साले आफ्नो चौथो स्थापना दिवसको अवसरमा आज बिहान वीरगञ्जमा प्रभातफेरी आयोजना गरेको छ। घण्टाघरबाट प्रारम्भ भएको प्रभातफेरी माईस्थान, महावीरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभा संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले पत्रकारहरू सधैं पार्टीसँगै रहेको भन्दै आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षधर रहेको प्रष्ट पार्नुभयो। साथै सरकारद्वारा ल्याइएका मिडिया–विरोधी विधेयक र कानुन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पछिल्लो समयमा पत्रकारितामा असुरक्षा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले चालेका कदमको कडा आलोचना गर्दै ल्याउन लागिएको प्रेसविरोधी विधेयक अस्वीकार्य हुने अडान राख्नुभयो। साथै मिडिया–मैत्री राज्य निर्माणका लागि सबै पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

वक्ताहरूले मिडियालाई दर्ता र नविकरण प्रशासन मातहतमा राख्ने प्रावधानप्रति असहमति जनाउँदै, सूचना विभागका कार्य अवरुद्ध हुनु र प्रशासनबाट पनि आवश्यक सहयोग नपाउँदा पत्रकारहरू समस्यामा परेको बताएका थिए।

यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगञ्ज, मधेश दृष्टि र टिभी वीरगञ्जका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, श्रमजीवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

चौथो स्थापना दिवसमा आयोजित यस कार्यक्रमले पत्रकारिता क्षेत्रका चुनौती, अवसर र प्रेस स्वतन्त्रताको संरक्षणप्रति सबलीकरणको सन्देश दिएको आयोजकहरूले जनाएका छन्

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM