पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले जिल्लामा शान्ति सुरक्षा कायम राख्दै नागरिकलाई सहज रूपमा सरकारी सेवा–सुविधा उपलब्ध गराउनु आफ्नो प्रमुख दायित्व हुने बताएका छन्।
मंगलबार जिल्ला प्रशासन कार्यालय वीरगञ्जमा सञ्चारकर्मीहरूसँग आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले जिल्लाका प्रमुख समस्या पहिचान गरी समाधानको दिशामा योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।
हाल वीरगञ्जमा देखिएको हैजा प्रकोपलाई प्राथमिकतामा राख्दै उनले स्वास्थ्यकर्मीहरूसँग घनिष्ठ समन्वय गरेर प्रभावकारी कदम चालिने जानकारी दिए। सुवेदीले हैजा नियन्त्रणमा ढिलासुस्ती नहोस् भन्ने हेतुले आवश्यक स्रोत साधन परिचालनमा प्रशासन सघाउने बताए।
सिमावर्ती क्षेत्रमा बढ्दै आएका अवैध गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा पारिने उनको भनाइ थियो। उनले अवैध कारोबार, तस्करी र अपराधजन्य कार्यलाई रोक्न प्रशासन पूर्ण रूपमा सक्रिय रहने स्पष्ट पारे।
सुवेदीले किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउने वातावरण बनाउन प्रशासन जुट्ने बताए। यसका लागि कालोबजारी नियन्त्रण गर्न नियमित अनुगमन गरिने उनको भनाइ थियो। “किसानलाई आवश्यक मल समयमा उपलब्ध हुनुपर्छ, त्यसका लागि कुनैप्रकारको कालोबजारी सह्य हुने छैन,” उनले चेतावनी दिए।
सेवाग्राहीको बढी चाप हुने कार्यालयहरूमा सहज सेवा प्रवाहका लागि व्यवस्थापन सुधार गरिने सुवेदीले बताए। विशेषगरी राष्ट्रिय परिचयपत्र, नागरिकता र प्रतिलिपि लिन आउने भीड नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिइसकेको उनले जानकारी दिए।
सुवेदीले जिल्लाका विभिन्न सरोकारवालाहरूसँग नियमित संवाद र समन्वय गरी समस्या समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए। “सबै निकायबीचको सहकार्य र समन्वयमार्फत मात्र जिल्लाका समस्या समाधान गर्न सकिन्छ,” उनले भने।









