बीरगञ्जस्थित निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्सा अन्तर्गतका दुई छात्रा प्रतिष्ठित अन्तर्राष्ट्रिय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता ‘माइक अप’ मा नेपालको प्रतिनिधित्व गर्न थाइल्यान्ड प्रस्थान गरेका छन्।
गौतम स्कुलकी स्वरा झा र नेशनल इन्फोटेक कलेजकी सारा श्रेष्ठ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डको बैंककका लागि उडेका हुन्। उनीहरूले भदौ ११ देखि १५ गतेसम्म हुने सेमिफाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।
बिदाई कार्यक्रममा प्याब्सन पर्साका जिल्ला कार्यसमिति सदस्य सुशील केसीले दुवै छात्रालाई ढाका टोपी र नेपालको राष्ट्रिय झण्डा ओढाएर सफलताको शुभकामना दिएका थिए। उनले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन पाउनु गौरवको विषय भएको उल्लेख गर्दै छात्राहरूले पर्सा जिल्लाको नाम उच्च बनाउन सफल हुने विश्वास व्यक्त गरे। यस अवसरमा गौतम स्कुलका शिक्षक एल्बिन रेन्जरलाई पनि बिदाई गरिएको थियो।
नेपालमै सम्पन्न प्रारम्भिक चरणको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेका यी दुवै छात्रा फरक–फरक श्रेणीमा प्रतिस्पर्धा गर्नेछन्।
सारा श्रेष्ठ : वीरगञ्ज महानगरपालिका–३ निवासी राजबहादुर श्रेष्ठ र सिता थापा श्रेष्ठकी छोरी, नेशनल इन्फोटेक कलेजमा कक्षा १२ मा अध्ययनरत। उनले सिनियर विधा मा छनौट हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छन्।
स्वरा झा : वीरगञ्ज महानगरपालिका–१२ निवासी रविन्द्र झा र अनामिका झाकी छोरी, गौतम स्कुलमा कक्षा ९ की छात्रा। उनले जुनियर विधा मा उत्कृष्ट प्रस्तुति गर्दै सेमिफाइनलमा प्रवेश गरेकी छन्।
दुवै छात्राले लामो समयदेखि अध्ययनसँगै वक्तृत्वकला क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएका छन्। सेमिफाइनल चरणमा उत्कृष्ठ प्रदर्शन गर्न सफल भएमा उनीहरूले चीनमा आयोजना हुने फाइनल प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।









