नेपाल राहत शिक्षक राष्ट्रिय समितिको सामाजिक सुरक्षा कोष, पेशागत सुरक्षा तथा आन्तरिक प्रतिस्पर्धा विषयक विचार गोष्ठी कार्यक्रम पर्साको वीरगन्जमा सम्पन्न भएको छ।
वीरगन्ज महानगरपालिका–४ बिर्तास्थित श्री त्रिजुद्ध प्रसाद महावीर प्रसाद रघुवीर राम प्राविधिक विद्यालयको सभाहलमा बुधबार सम्पन्न उक्त कार्यक्रममा राहत शिक्षकहरुको पेशागत सुरक्षा, सामाजिक सुरक्षा, अधिकार सुनिश्चितता र संगठनात्मक एकताबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले विगतदेखि नै राहत शिक्षकहरुमाथि अन्याय हुँदै आएको बताउँदै आफू यसका विरुद्ध निरन्तर लडिरहेको बताए।
उनले भने, “राहत शिक्षकलाई ठग्ने, अधिकार हनन गर्ने काम भइरहेका छन्। ममाथि विभिन्न षड्यन्त्र गरी २७ वटा मुद्दा हालिए पनि म राहत शिक्षकहरुको पक्षमा सधैं उभिरहनेछु।”
गोष्ठी कार्यक्रम नेपाल राहत शिक्षक राष्ट्रिय समितिका उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक उत्तम गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथि भएर राष्ट्रिय समितिका महासचिव जीवन तिमिल्सिना, कोषाध्यक्ष प्रकाश पाण्डे, सचिवालय सदस्यहरु ओम प्रकाश गुप्ता, अम्बर यादव, बाल चन्द्र प्रसाद घिमिरे, विजय चौरसिया लगायतको उपस्थिति थियो।
त्यस्तै, कार्यक्रममा पर्सा समितिका पूर्व अध्यक्ष विरेन्द्र पाण्डेसहित विभिन्न जिल्लाबाट आएका राहत शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो।
गोष्ठीमा सहभागी शिक्षकहरुले राहत शिक्षकहरुको दीर्घकालीन पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल स्पष्ट नीति बनाउनुपर्ने, सामाजिक सुरक्षा कोषमा राहत शिक्षकलाई समावेश गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धामा उनीहरुको अधिकार सुरक्षित गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
नेपाल राहत शिक्षक राष्ट्रिय शिक्षक समितिका अध्यक्ष विष्णु खत्रीको अध्यक्षतामा तपसिल बमोजिमको प्रस्ताव माथि छलफल गरि सर्व सहमतिवाट निर्णय गरियो।
प्रस्ताव: नेपाल राहत शिक्षक राष्ट्रिय समितिको नेपाल राहत शिक्षक मधेश प्रदेश समिति गठन गर्ने सम्बन्धमा ।
उपरोक्त प्रस्तावमाथि छलफल गर्दा मधेश प्रदेशका राहत शिक्षकहरु मध्ये तपसिल अनुरकुत शिक्षकहरू लोग छनौट निम्नानुसारको मधेश प्रदेश समिति गठन गरियो ।









