२०८२ चैत्र ६ गते शुक्रबार

वीरगञ्जमा लामखुट्टे नियन्त्रण तथा हैजा रोकथामका लागि युद्धस्तरमा अभियान संचालन

 

वीरगञ्ज महानगर क्षेत्रमा लामखुट्टे नियन्त्रण र हैजा रोकथामका लागि युद्धस्तरमा अभियान संचालन भइरहेको छ। नगरभित्र दिनदिनै बढिरहेको सरुवा रोगको जोखिमलाई मध्यनजर गर्दै महानगरले वडा नं. १ देखि ३२ सम्म औषधि छर्कने विशेष अभियान सुरु गरेको हो।

यस अभियान अन्तर्गत घरघरमा पुगेर कीटनाशक औषधि छर्कने, नाली सफा गर्ने, भाँडाकुँडामा पानी जम्मा हुन नदिने, पानी ट्यांकीमा ढक्कन राख्न प्रेरित गर्ने, साथै व्यक्तिगत सरसफाइमा जनचेतना फैलाउने कार्यहरू भइरहेको छ।

अभियानको नेतृत्व वीरगञ्ज महानगरपालिकाका प्रमुख मेयर राजेशमान सिंहको निर्देशनमा भइरहेको हो। साथै ग्रीनसिटी सामुदायिक प्रहरी अदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, नगरपालिकाका सरसफाइ टोली प्रमुख सर्फुरुदिन मिया, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवाला निकायका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको छ।

स्वास्थ्य विज्ञहरूको भनाइमा हाल वीरगञ्ज क्षेत्रमा डेंगु, हैजा, टाइफाइड, पखाला जस्ता सरुवा रोगहरूको जोखिम बढ्दो क्रममा छ। समयमै नियन्त्रण नगरे महामारी फैलिन सक्ने भएकाले महानगरले आपतकालीन शैलीमा अभियान सञ्चालन गर्नुपरेको जनाएको छ।

मेयर सिंहले भने,
“महानगरवासीको स्वास्थ्यलाई सर्वोच्च प्राथमिकता दिइएको छ। यस अभियानमार्फत हामीले लामखुट्टे र पानीजन्य रोगहरूलाई नियन्त्रणमा ल्याउने विश्वास लिएका छौं। तर यो केवल महानगरको प्रयासले मात्र सम्भव छैन, यसका लागि नागरिकहरूले पनि सरसफाइमा सचेत भएर सहयोग गर्न जरुरी छ।”

साथै, विद्यालय, बजार क्षेत्र, धर्मशाला, होटल तथा भीडभाड हुने ठाउँहरूमा पनि नियमित फगिङ (धुवाँ) अभियान चलाइने जनाइएको छ।

स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो कदमलाई स्वागत गरेका छन्। उनीहरूले लामो समयदेखि सरुवा रोगको डरले आतंकित भइरहेका बेला युद्धस्तरमा गरिएको अभियानले राहत दिने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM