मनको शान्तिको सबैभन्दा ठूलो उपाय भनेको मनमा रहेको त्यागमूलक वृत्तिलाई उजागर गर्नु हो। उक्त विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष समेत मिडिया प्रभारी तथा सामाजिक अभियन्ता लायन बिमल सर्राफले पत्रकारमार्फत सार्वजनिक गरेका हुन्।
उनका अनुसार सर्वप्रथम मनलाई त्यागभावमा राख्नुपर्छ, बाह्य संसारबाट पर्ने अवरोधबाट जोगाएर अन्तःकरणमा केन्द्रित गर्नुपर्छ। मनको इच्छा प्रायः बाहिर भौंतारिन चाहन्छ, त्यसलाई बाँधेर जिम्मेवारीपूर्वक नियन्त्रणमा लिनुपर्छ। त्यसपछि मनलाई दिशाहीन हुन नदिई सधैं सार्थक तथा उपयोगी कार्यमा लगाउनुपर्छ। यसरी चलाइएका अभ्यासले मन निरन्तर उद्वेगरहित भई शान्तितर्फ अघि बढ्छ।
“मन एउटा विशाल सरोवर हो, जसको स्रोत मनुष्यका वृत्तिहरू हुन्। यदि ती वृत्तिहरूलाई रोकेर कुनै आदर्शतर्फ लगाइयो भने, त्यसबाट लाभ लिएर मनको गति र स्वरूपलाई निर्धारण गर्न सकिन्छ। यसरी संकल्पपूर्वक मनलाई नियन्त्रणमा लिन सकियो भने आत्मिक शान्ति प्राप्ति सहज हुन्छ,” सर्राफले बताए।
उनका अनुसार मन अशान्त हुनुको कारण भनेकै अज्ञान हो, जसले गर्दा मन आफ्नो शक्ति–स्रोतबाट वञ्चित हुन्छ। जब मानिसले आफ्नो अन्तरंग वृत्तिलाई बुझ्न सिक्छ, त्यही दिनदेखि ऊ आफ्नो हरेक प्रयोजनमा सफल हुन्छ र निस्पृह भई आफ्नो केन्द्रीय लक्ष्यतर्फ अघि बढ्छ।
“प्रकाशको सूर्य नै शान्ति, सद्गति र प्रेरणाको मूल कारण हो, र त्यो प्रकाश अरू केही नभई आत्मासँग मनको मिलन हो। संसारका सबै सम्बन्ध मिथ्या हुन्, स्वप्नवत् हुन्। जसरी सपना देख्दा सबै कुरा सत्य जस्तो लाग्छ तर जागेपछि त्यसको अस्तित्व हुँदैन, त्यस्तै यस संसारका सबै सम्बन्ध पनि शरीरसँगै मात्र सीमित छन्। शरीर निस्क्रिय भएपछि यी सम्बन्धहरूसँग हाम्रो कुनै नाता रहँदैन। त्यसैले आवश्यक छ, यी सम्बन्धहरूलाई पहिले नै मनमै त्याग्ने, जसले गर्दा पछिल्लो समयमा पश्चाताप गर्नु नपरोस्,” सर्राफले जोड दिए।









