नेपाल र भारतबीचको पत्रकारिता सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५’ शनिबारदेखि वीरगञ्जमा सुरु भएको छ। दुई छिमेकी मुलुकका पत्रकार, सम्पादक, सञ्चार विज्ञ तथा नीतिनिर्माताको सहभागीमा भिष्वा होटलमा भव्य उद्घाटन समारोह सम्पन्न भएको हो।
मिडिया फर बोर्डर हार्मोनी, नेपालद्वारा आयोजित कन्क्लेभको अध्यक्षता संस्थाका अध्यक्ष अनिल तिवारीले गरेका थिए। कार्यक्रममा नेपाल र भारतका प्रतिष्ठित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रह्यो।
उद्घाटन सत्रका मुख्य अतिथि प्रतिनिधिसभा सदस्य अजय चौरसियाले नेपाल–भारतबीचको ऐतिहासिक सांस्कृतिक, भाषिक र सामाजिक सम्बन्धलाई पत्रकारिताको माध्यमबाट अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए। उनले भने, “यस्ता कार्यक्रमहरूले आपसी विश्वास र सहकार्यलाई नयाँ आयाम दिने छन्।”
सो अवसरमा रासस अध्यक्ष धर्मेन्द्र झा, पूर्वराजदूत विजय कान्त कर्ण, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदीश शर्मा र महासंघका सचिव अशोक तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले सीमा क्षेत्रमा विद्यमान साझा चुनौती समाधानमा मिडियाको सक्रियता अपरिहार्य रहेको धारणा राखे।
आयोजकका अनुसार, कन्क्लेभमा नेपाल–भारतका ८० भन्दा बढी पत्रकार तथा सञ्चार विज्ञहरूको सहभागिता रहेको छ। यस सम्मेलनमार्फत ‘नेपाल–भारत मिडिया नेटवर्क’ स्थापना गर्ने र दुवै देशका सञ्चारकर्मीबीच दीर्घकालीन सहकार्यलाई संस्थागत गर्ने योजना रहेको बताइएको छ।
दुई दिने कन्क्लेभमा सीमा क्षेत्रमा पत्रकारिताका अवसर, चुनौती र सम्भावनाबारे विभिन्न सत्रहरूमा गहन छलफल हुने जनाइएको छ। सम्मेलनले पत्रकारितामार्फत दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन ठोस कार्ययोजना तयार गर्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।









