२०८२ चैत्र ६ गते शुक्रबार

‘बृहत महिला सम्मेलन–२०८२’ वीरगञ्जमा सम्पन्न, २५ महिलालाई सम्मान

 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरूलाई आत्मविश्वासी बनेर समाजलाई सकारात्मक ढंगले चुनौती दिँदै परिवर्तनको नेतृत्व लिन आह्वान गरेकी छन्। वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा शनिबार आयोजित ‘बृहत महिला सम्मेलन–२०८२’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महिलाको उद्यमशीलता देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको बताइन्।

वीरगञ्जजस्तो व्यापारिक केन्द्रमा महिलाको सक्रिय सहभागिता केवल व्यक्तिगत सफलतामात्र नभई सिंगो देशको अर्थतन्त्र सबल बनाउन योगदान पुर्‍याउने प्रक्रिया भएको उल्लेख गर्दै भण्डारीले भनिन्, “महिला उद्यमशीलतालाई सम्मान गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ र आगामी पुस्तालाई प्रेरणा दिनेगरी अघि बढ्नुपर्छ।”

समाजमा अझै कायम रहेका लैंगिक असमानता,विविध अवरोधबारे टिप्पणी गर्दै उनले महिलाहरूले ती संरचनाहरू तोड्ने आत्मबल विकास गर्नुपर्नेमा जोड दिइन्। “लैंगिक असमानताका जरा अझै गहिरा छन्। महिलाले आत्मबल, आत्मनिर्भरता र दृढसंकल्पका साथ त्यस्ता पूर्वाग्रहलाई चुनौती दिन सक्नुपर्छ,” उनको भनाई थियो।

नेपालको समृद्धि प्राकृतिक स्रोत, जनशक्ति र सांस्कृतिक विविधताको विवेकपूर्ण उपयोगमा रहेको उल्लेख गर्दै उनले स्वदेशी उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा महिलाको भूमिका अपरिहार्य हुने औंल्याइन्। कृषिमा आधारित उद्योग, जडीबुटी, आयुर्वेद, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई महिलाले नेतृत्व दिनुपर्नेमा पनि उनले जोड दिइन्।

परिवारदेखि उद्योग, शिक्षा, स्वास्थ्य र सामाजिक परिवर्तनसम्म महिलाको योगदान महत्वपूर्ण रहे पनि त्यो योगदानलाई अझै पर्याप्त सम्मान प्राप्त नभएको उनले टिप्पणी गरिन्।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नारीहरू अझै पनि विभेद र कठिनाइको सामना गरिरहेको उल्लेख गर्दै यो सम्मेलनले उनीहरूको आवाज बुलन्द गराउने विश्वास व्यक्त गरे।

संघको महिला उद्यमशीलता विकास समितिकी सभापति डा. लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका २५ जना महिलाहरूलाई प्रमुख अतिथि पूर्व राष्ट्रपति भण्डारीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिन्।

आयोजकका अनुसार, यो सम्मेलनले महिला नेतृत्व, उद्यमशीलता र समान अवसरप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको छ। साथै, यसले आगामी दिनमा महिला अनुकूल नीतिनिर्माणका लागि सशक्त सन्देश दिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM