बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको १५ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा वीरगञ्जमा विभिन्न संस्थाहरूले संयुक्त रूपमा श्रद्धाञ्जली सभा आयोजना गरेका छन्। नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखा, एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगञ्ज, र पर्सागढी सहिद स्मृति प्रतिष्ठानले घण्टाघर चोकमा मैनबत्ती प्रज्वलन गरी दिवस मनाएका हुन्।
एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगञ्जको अध्यक्ष रजनीश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका पूर्व संयोजक राजेश बोथरा, पत्रकार अभिलाष गुप्ता, मनोज बबरी,सुरेश परिक,नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका अध्यक्ष बृज किशोर पटेलको अध्यक्षतामा एवं पदाधिकारीहरू, पर्सागढी सहिद स्मृति प्रतिष्ठानका प्रतिनिधिहरू लगायत अनेक सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको उपस्थिति थियो।
कार्यक्रममा वक्ताहरूले जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूको पीडा केवल परिवारको मात्र नभई सम्पूर्ण समाजकै पीडा भएको उल्लेख गर्दै सरकार र सम्बन्धित निकायलाई पीडितहरूको न्याय सुनिश्चित गर्न आग्रह गरे। उनीहरूले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।
सचिव सुनिल महतोले सञ्चालन गरेकाे कार्यक्रममा पीडित परिवारप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले मैनबत्ती बाल्दै बेपत्ता पारिएका पीडितहरूको स्मृतिलाई सम्मान जनाएका थिए।
प्रत्येक वर्ष अगस्ट ३० का दिन अन्तर्राष्ट्रियस्तरमा बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको दिवस मनाइने गरिन्छ। यस दिवसको उद्देश्य बेपत्ता पारिएका व्यक्तिहरूको न्याय सुनिश्चित गर्न राज्यलाई दबाब दिनुका साथै पीडित परिवारसँग ऐक्यबद्धता जनाउनु हो।









