जनमत पार्टीमा पर्सा, वीरगञ्ज निवासी लामो समयदेखि व्यापार व्यवसायमा संलग्न सामाजिक तथा प्रभावशाली व्यक्तित्वहरू दीनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेल आबद्ध भएका छन्। राजधानी काठमाडौंस्थित मध्य–बानेश्वरमा रहेको पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा आयोजित विशेष कार्यक्रमका बीच पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सी.के. राउतबाट उहाँहरूले औपचारिक रूपमा सदस्यता ग्रहण गरेका हुन्।
सदस्यता ग्रहण समारोहमा दुवै नेताको पार्टी प्रवेशलाई ऐतिहासिक र उत्साहजनक मानिएको छ। वीरगञ्ज बजार क्षेत्रमा दुवै व्यक्तित्वको सक्रिय सामाजिक तथा व्यावसायिक योगदान रहँदै आएको हुँदा उहाँहरूको पार्टीमा प्रवेशले जनमत पार्टी पर्सा जिल्लामा झन् सशक्त, संगठित र जनआधारित रुपमा स्थापित हुने विश्वास लिइएको छ।
कार्यक्रममा पार्टी नेतृत्वले नयाँ सदस्यलाई हार्दिक स्वागत गर्दै उहाँहरूको सहभागिताले पार्टीको संगठन विस्तार, स्थानीय समस्या समाधान तथा आम नागरिकका मुद्दामा प्रभावकारी योगदान पुग्ने अपेक्षा व्यक्त गरियो। साथै, वीरगञ्ज बजार क्षेत्र र आसपासमा जनमत पार्टीको जनआधार थप मजबुत हुने विश्वास समेत व्यक्त गरिएको छ।
यस अवसरमा पार्टीका पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सराफले दीनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेलको पार्टी प्रवेशले जनमत पार्टीलाई थप ऊर्जा मिलेको बताए। उहाँले भन्नुभयो, “समाजमा प्रभावशाली भूमिका निर्वाह गर्दै आउनुभएका गुप्ता र पटेलजस्ता व्यक्तित्वहरूको जनमत परिवारमा आवद्धता हाम्रो लागि गौरवको विषय हो। उहाँहरूको सहयोग र नेतृत्वले पर्सा जिल्लामा जनमत पार्टी अझ बलियो हुनेमा हामी विश्वस्त छौं।”
उक्त कार्यक्रममा राष्ट्रिय प्रवक्ता डा. सरद सिह यादव , केन्द्रिय सचीव बिगु चौधरी ,कार्यकारी सदस्य माधव सिह, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेता भुपेन्द्र साह, पर्सा युवा अध्यक्ष उदय यादव लगायतको उपस्थित रहेको थियो।









