उपकार सेवा नेपालले सधैंझैं यसपटक पनि ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा मासिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ।
आश्रममा आश्रित १७ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूका लागि आवश्यक सामग्री प्रदान गरिएको हो। सहयोग सामग्रीमा चामल, पीठो, दाल, खाने तेल, नून, बिस्कुट, टूथब्रश, टूथपेस्ट, चिउरा, भुजा, चना, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डाइपर, धनियाँ, खुर्सानी, बेसारलगायत दैनिक जीवनमा आवश्यक हुने सामग्रीहरू समावेश थिए।
सहयोग सामग्री हस्तान्तरणका अवसरमा आश्रमका सदस्य रामबहादुर थिङलाई बोलाई एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले संयुक्त रूपमा सामग्री थिङलाई हस्तान्तरण गरेका थिए।
संस्थाले आश्रममा रहेका सेवाग्राहीहरूलाई स–साना आवश्यकता पूर्ति गर्दै आत्मीयता र सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले प्रत्येक महिनामा यस्ता सामग्रीहरू उपलब्ध गराउँदै आएको छ। उपकार सेवा नेपालका पदाधिकारीहरूले निरन्तर सहयोगमार्फत मानव सेवामै जीवनको सच्चा सन्तुष्टि मिल्ने बताउँदै आगामी दिनहरूमा अझ प्रभावकारी रुपमा समाजसेवामा संलग्न रहने प्रतिबद्धता व्यक्त गरेका छन्।









