वीरगञ्जको माइस्थान मन्दिरदेखि घण्टाघरसम्म शुक्रबार बिहान आयोजित हैजा नियन्त्रण जनचेतना कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

“हैजा महामारी नियन्त्रण र रोकथाम” भन्ने मूल विषयलाई लिएर गरिएको यस विशेष प्रभातफेरीमा स्थानीय बासिन्दासहित विद्यार्थी, शिक्षक र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखियो। बिहान ७ बजे सुरु भएको कार्यक्रममा सहभागीहरूले हैजासम्बन्धी जनचेतनामूलक पम्प्लेट वितरण गर्दै सुरक्षित खानेपानी, स्वच्छता, सरसफाइ र व्यक्तिगत सफाइको महत्वबारे सन्देश प्रवाह गरेका थिए। साथै, खानपानमा ध्यान दिनु, पानी उमालेर मात्र पिउनु र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने चेतना फैलाइएको थियो।
कार्यक्रममा कञ्चनजंगा स्कुलका विद्यार्थी र शिक्षकहरूले प्रभातफेरी गर्दै घर–घरमा पुगेर सचेतना फैलाएका थिए। यसले अभियानलाई अझै प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन्।

जनचेतनामूलक यो अभियान लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटी, लायन्स क्लब अफ वीरगञ्ज सुप्रीम, लायन्स क्लब अफ वीरगञ्ज ह्युमानिटी, लायन्स क्लब अफ वीरगञ्ज गेटवे र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डको संयुक्त आयोजनामा सम्पन्न भएको हो। साथै नेपाल क्षयरोग निवारण संस्था पर्सा, वीरगञ्ज र नेपाल स्काउट पर्साको सक्रिय सहकार्य उल्लेखनीय रह्यो।
कार्यक्रममा जिल्ला क्याबिनेट सदस्य लायन अशोक बेरीवालको विशेष उपस्थिति रहेको थियो। नेपाल क्षयरोग निवारण संस्था पर्सा, वीरगञ्जका सचिव सम्भु प्रसाद चौरसिया, नेपाल स्काउट पर्साका भुप नारायण पटेल र कञ्चनजंगा स्कुलका मार्टिन मोक्तानलगायत विशिष्ट अतिथिहरूले समेत सहभागिता जनाएका थिए।
त्यसैगरी, लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीका उपाध्यक्ष प्रदीप कुमार अग्रवाल, सचिव रबिन श्रेष्ठ, कोषाध्यक्ष अंकित चौरसिया, लायन्स क्लब अफ वीरगञ्ज सुप्रीमका अध्यक्ष पियुष दारुका लगायतका सदस्यहरूको उल्लेखनीय योगदान रहेको थियो।

कार्यक्रम संयोजक लायन उमेश कुमार गुप्ताले सबै सहभागी क्लब, पदाधिकारी र सदस्यप्रति आभार व्यक्त गर्दै स्वास्थ्यप्रति सजग र जिम्मेवार समाज निर्माणमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस अभियानले वीरगञ्जवासीलाई हैजाबाट जोगिन आवश्यक सावधानीबारे सचेत बनाएको मात्र होइन, दीर्घकालीन रूपमा स्वास्थ्यप्रति सचेत समाज निर्माण गर्ने आधार पनि तयार गरेको आयोजकहरूले बताएका छन्।









