रक्सौलको बैंक रोडस्थित श्री सत्यनारायण मारवाडी पंचायती मन्दिर परिसरमा शारदा कला केन्द्र रक्सौलको तत्वावधानमा काठमाडौं (नेपाल) का चर्चित कोरियोग्राफर फंकी दाजु (Funky DazU) को संयोजनमा दुई दिने नृत्य कार्यशालाको शुभारम्भ भएको छ।
यस अवसरमा शारदा कला केन्द्रकी सञ्चालिका शिखा रंजन, कोरियोग्राफर फंकी दाजु, केन्द्रका नृत्य प्रशिक्षक रंजन कुमार, मारवाडी सम्मेलनकी अध्यक्षा सोनू काबरा, प्रादेशिक बाल विकास प्रमुख वीणा गोयल तथा खु्सबु भरतियाले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यशालाको विधिवत शुभारम्भ गरेका थिए। तत्पश्चात शिखा रंजन र रंजन कुमारले नेपालबाट आएका प्रसिद्ध कोरियोग्राफर फंकी दाजुलाई दोसल्ला ओढाइ सम्मानित गरेका थिए।
कार्यशालामा पचासभन्दा बढी प्रतिभागीहरूले लकिङ र हिपहप नृत्यका आधारभूत स्टेप तथा प्रविधि सम्बन्धी ज्ञान प्राप्त गरेका थिए। नृत्य प्रशिक्षक रंजन कुमारले फंकी दाजु एक उत्कृष्ट कोरियोग्राफर भएको उल्लेख गर्दै लकिङ र हिपहप नृत्यमा उनको लामो अनुभवले बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरको सीप हासिल गर्न मद्दत गर्ने बताए।
सो अवसरमा फंकी दाजुले बदलिँदो समयसँगै नृत्यका शैलिहरू पनि परिवर्तन भइरहेको उल्लेख गर्दै परम्परागत नृत्यसँगै नयाँ शैलीलाई आत्मसात् गर्नु कलाकारका लागि अत्यावश्यक रहेको विचार व्यक्त गरे।
शारदा कला केन्द्रकी सञ्चालिका शिखा रंजनले करिब एक दशकदेखि रक्सौलका बालबालिकाको लुकेका प्रतिभा निखार्दै सक्षम नृत्य कलाकार उत्पादन गर्दै आएको बताउँदै यो कार्यशालाको उद्देश्य बालबालिकालाई आधुनिक नृत्यशैलीसँग जोड्नु रहेको बताइन्। उनले नृत्य केवल कला मात्र नभई आत्म–अभिव्यक्ति र मानसिक सन्तुलनको माध्यम पनि भएको उल्लेख गरिन्।
कार्यशालाले मनोरञ्जनसँगै विद्यार्थीहरूको सिर्जनात्मकता निखार्ने, आत्मविश्वास बढाउने र भविष्यमा सक्षम नृत्य कलाकारको रूपमा करिअर बनाउन प्रोत्साहन दिने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी बालबालिका अत्यन्त उत्साहित देखिएका थिए भने अभिभावकहरूले कार्यशालाको सराहना गर्दै दुई दिन मात्र नभई हप्ताभरको हुने भए अझ राम्रो हुने प्रतिक्रिया दिएका थिए।
शिखा रंजनले भविष्यमा रक्सौल मात्र नभई अन्य सहरका विद्यार्थीहरूलाई समेत विदेशी कोरियोग्राफरहरूको संयोजनमा यस्ता नृत्य कार्यशालामा सहभागी गराई आफ्नो प्रतिभा उजागर गर्ने अवसर दिलाइने जानकारी दिइन्।
कार्यक्रममा अखिल भारतीय मारवाडी महिला सम्मेलन रक्सौल इकाईकी अध्यक्षा सोनू काबरा, प्रादेशिक पदाधिकारी वीणा गोयल, खु्सबु भरतिया, रजनीश प्रियदर्शी, पूजा पाण्डेय, दीपा कुमारी, स्नेहा टिबडेवाल, गोपी कलवारलगायतको उपस्थिति रहेको थियो।









