२०८२ चैत्र ६ गते शुक्रबार

वीरगञ्जमा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आन्दोलन शुरु

 

देशव्यापी रूपमा फैलिएको भ्रष्टाचारविरुद्धको जेन–जी पुस्ताको आन्दोलन वीरगञ्जमा पनि सुरु भएको छ। वीरगञ्जको प्रमुख सार्वजनिक स्थल घण्टाघरमा आज बिहानैदेखि युवाहरूको बाक्लो उपस्थिति रह्यो।

कसैले कलेजको पोशाकमै उपस्थित भएर आफ्नो आक्रोश देखाए भने कतिले कालो पोशाक धारण गरी विरोध प्रदर्शन गरे। उनीहरूले हातमा ‘भ्रष्टाचार अन्त्य गर’, ‘जनताको कर खान पाइँदैन’, ‘नेता चोर, देश छोड’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। कतिपय प्लेकार्डमा चर्चित नेताहरूलाई लक्षित गर्दै कडा शब्द प्रयोग गरिएको देखिन्थ्यो।

प्रदर्शनकारीहरूले नाराबाजीसहित शान्तिपूर्ण रूपमा घण्टाघर क्षेत्रमा जुलुस निकाले। उनीहरूले सामाजिक सञ्जालमाथि लगाइएको नियन्त्रणको पनि विरोध जनाउँदै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन्।

प्रदर्शनलाई थप व्यवस्थित बनाउन केही युवा समूहले स्वतःस्फूर्त नेतृत्व लिएको देखिन्थ्यो। उनीहरूले यो अभियान निरन्तर चलाइने र भ्रष्ट्राचारविरुद्धको आवाज अझै व्यापक बनाइने बताएका छन्।

स्थानीय सुरक्षाकर्मीहरू भने सावधानीपूर्वक स्थिति नियालिरहेका थिए। अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।

यो आन्दोलनले वीरगञ्जका युवाहरूमा मात्र होइन, सम्पूर्ण समाजमा राजनीतिक सचेतना र जवाफदेहीताबारे नयाँ बहस सुरु गरेको देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM