२०८२ चैत्र ६ गते शुक्रबार

सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन रास्वपा पर्साद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

 

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

सोमबार रास्वपा पर्साका सभापति हरि पन्तको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुवेदीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्र बुझ्दै सीडीओ सुवेदीले आफूले बुझाइएको ज्ञापनपत्रको विषयमा प्रधानमन्त्रीको कार्यालयलाई जानकारी गराउने प्रतिबद्धता जनाए।

रास्वपा पर्साका सभापति हरि पन्तले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई पार्टीले गम्भीररूपमा लिएको बताउँदै यसले आम नागरिकको मौलिक अधिकार र सूचनामा पहुँचको हकलाई कुण्ठित गरेको आरोप लगाए। उनका अनुसार, “सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि अन्य उपाय अवलम्बन नगरी सिधै बन्द गर्ने कदम निरंकुश शैलीको प्रतीक हो। यसले विद्यार्थी, व्यवसायी, सञ्चारकर्मीदेखि सम्पूर्ण नागरिकलाई नोक्सान पुर्‍याउनेछ।”

ज्ञापनपत्र बुझाउन गएको टोलीमा रास्वपा पर्साका सचिव सुदिस प्रजापति, सहसचिव कृष्ण पासवान, क्षेत्रीय सभापति राम आर्य, फैयाज मियाँ, नगर सभापति माधव बस्नेत, चन्दन गुप्ता लगायतको सहभागिता थियो।

रास्वपाले यो निर्णयविरुद्ध आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM