२०८२ चैत्र ६ गते शुक्रबार

वीरगन्जको विशेष क्षेत्र दंगाग्रस्त क्षेत्र घोषणा, निषेधाज्ञा र कर्फ्यु यथावत

 

पर्सा जिल्ला सुरक्षा समिति पर्साले आइतबार वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर यो निर्णय गरिएको हो। समितिले शान्ति–सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम निर्णय लिएको हो।

निर्णयअनुसार घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र तथा वीरगन्ज कारागार कार्यालय र त्यसको सम्पूर्ण कम्पाउन्ड क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषित गरिएको छ। यस आदेश अर्को सूचना जारी नभएसम्म लागू हुनेछ।

यसअघि नै वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा दैनिक बिहान ११:०० बजेदेखि बेलुकी ९:०० बजेसम्म निषेधाज्ञा जारी छ। साथै बेलुकी ९:०० बजेदेखि बिहान ५:०० बजेसम्म कर्फ्यु आदेश लागू गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले जनतालाई शान्ति–सुव्यवस्था कायम राख्न स्थानीय प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छन्। उहाँले दंगाग्रस्त क्षेत्रको घोषणाले संवेदनशील क्षेत्रमा भिडभाड रोक्न र हिंसात्मक गतिविधि नियन्त्रण गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

जिल्ला प्रशासन कार्यालयले तोडफोड, आगजनी र उपद्रव गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ। प्रशासनले सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ भने, स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक उक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM