जेन–जी आन्दोलनका क्रममा वीरगञ्जमा भएको तोडफोड र आगजनीको प्रत्यक्ष अवलोकन वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले गर्नुभएको छ । आन्दोलनकारीहरूले शहरका विभिन्न नेता तथा जनप्रतिनिधिहरूको घरदेखि लिएर महानगरपालिकाको संरचनासम्म आक्रमण गरी ठूलो धनजनको क्षति पुर्याएका छन् ।
उप–प्रमुख आलमका अनुसार, आन्दोलनकारीहरूले प्रमुख राजेशमान सिंह, नेपाली कांग्रेसका पूर्वमन्त्री अजय चौरसिया, कांग्रेस केन्द्रीय सदस्य अनिल रुङ्गटा, पूर्व खानेपानी मन्त्री प्रदीप यादव, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री राजकुमार गुप्ता लगायतका घरमा तोडफोड, आगजनी र लुटपाट गरेका छन् । आलमले आफ्नै घरसमेत तोडफोड र आंशिक आगजनी भएको उल्लेख गर्दै, “मेरो टोलका दाजुभाइहरूले विरोध जनाएर ठूलो क्षति हुन दिएनन्, त्यसका लागि धन्यवाद दिन चाहन्छु,” भन्नुभयो ।
आन्दोलनका क्रममा वीरगञ्ज महानगरपालिकाको भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेको छ । परिसरमा रहेका आधा दर्जनभन्दा बढी भवन जलेर नष्ट भएका छन् भने डेढ दर्जनभन्दा बढी सवारीसाधनमा आगजनी गरिएको छ । उप–प्रमुख आलमका अनुसार, १३ वटा सवारीसाधन र सात वटा मोटरसाइकल जलेर नष्ट हुँदा मात्रै करिब आठ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
महानगरका महत्त्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर, हार्डड्राइभलगायतका उपकरण जलेर खरानी बनेका छन् । यसले कार्यालय सञ्चालनमा गम्भीर चुनौती खडा गरेको आलमले बताउनुभयो । “अहिले महानगरको ९५ प्रतिशत संरचना क्षतिग्रस्त भएको छ, यसलाई पुरानै अवस्थामा फर्काउन लामो समय लाग्छ,” उहाँले भन्नुभयो ।
यद्यपि, अहिले महानगरका सरसफाइकर्मीहरूले परिसर वरपर सरसफाइको कामलाई अघि बढाइरहेका छन् । नगर प्रहरीले आन्दोलनपछि लुटिएका सामान फिर्ता ल्याउने अभियान सुरु गरेको छ । हालसम्म हार्डड्राइभ नौ थान, केबल टेस्टर, कनभर्टर, टेबल, कुर्सी लगायतका सामग्री बरामद गरिएको उप–प्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनुभयो ।
वीरगञ्जमा गत मंगलबारदेखि सुरु भएको आक्रमण र आगजनीका कारण जनजीवन सामान्य बन्न अझै समय लाग्ने देखिन्छ ।









