सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली ल्याइएका कपडा, जुत्ता तथा अन्य सामग्रीसहित बोलेरो पिकअप नियन्त्रणमा लिई बीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
मिति २०८२ भदौ ३० गते साँझ करिब ५:३५ बजे, बीरगञ्ज महानगरपालिका–०९ स्थित पान गल्ली इलाकामा सशस्त्र प्रहरी नायव उपरीक्षक (स.प्र.ना.उ.) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको गस्ती टोलीले ना.४ च ६३७९ नम्बरको बोलेरो पिकअपमा अबैध सामान लोड भइरहेको अवस्थामा पक्राउ गरेको हो। सो क्रममा करिब रु. १४,४९,८०० बराबरका कपडा तथा जुत्ता र सोही गाडीलाई करिब रु. २०,००,००० मूल्याङ्कन गरी भन्सार बुझाइएको छ।
त्यस्तै, सोही गुल्मबाट खटिएको अर्को टोलीले बीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट रु. २,१६,५५० बराबरका कपडा, किराना सामग्री र खसी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
यसैबीच, गण मातहतको प्र.सी.सु.गुल्म अलौबाट खटिएको टोलीले बीरगञ्ज महानगरपालिका–१७, अलौ चौकबाट रु. १,४१,९३० बराबरको मोटरसाइकलसहित किराना सामान बरामद गरी भन्सार बुझाएको जनाएको छ।
यसरी विभिन्न कारबाहीमार्फत सो दिन मात्रै सशस्त्र प्रहरीले रु. ३८,०८,२८० बराबरको सामान नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन्।









