जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गरी ध्वस्त पारेको वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगर वडा कार्यालय फेरि सञ्चालनमा आएको छ। गत मंगलबार भएको घटनापछि सेवा ठप्प रहेको वडा कार्यालय मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

वडाध्यक्ष सुशील साह कानु, कर्मचारी तथा स्थानीय युवाहरूको सक्रियतामा आइतबार र सोमबार व्यापक सरसफाइ तथा मर्मतको काम सम्पन्न भएपछि सेवा प्रवाह पुनः सुरु गरिएको हो।
वडाध्यक्ष कानुले कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर, कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायतका सामग्रीहरू आफ्नै व्यक्तिगत खर्चमा उपलब्ध गराएका छन्। उनका अनुसार, “कार्यालय सञ्चालनका लागि कम्तीमा १५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्छ। अहिले मेरो घरमै रहेका सामग्री प्रयोग गरेर सेवा सुरु गरेका छौँ,” भनेका छन्।
आगोले जलेर पूर्ण रूपमा ध्वस्त भएको दोस्रो तल्लाको कोठा प्रयोग गर्न असम्भव भएकाले वडा कार्यालय अस्थायी रूपमा भुइँतल्लाको बरन्डाबाट सञ्चालनमा ल्याइएको छ।
आगजनी र तोडफोडबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। कार्यालयका दुई कोठा र एक हल पूर्णरूपमा नष्ट भएका छन्। साथै, ४ थान कम्प्युटर, २ थान ल्यापटप, ३ थान एसी, २ थान प्रिन्टर, टेबल, कुर्सी, सोफा, दराजलगायत सबै फर्निचर जलेर खरानी भएका थिए।

महानगरपालिकाले मंगलबार बसेको नगर परिषद् बैठकमा आवश्यक उपकरण र सामग्री केही दिनभित्र उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
अराजक घटनाबाट प्रभावित वडा कार्यालय पुनः सञ्चालनमा ल्याउन वडाध्यक्ष कानुको निजी पहलले स्थानीय बासिन्दा हर्षित भएका छन्। सेवा ठप्प हुँदा समस्या भोगिरहेका नागरिकले पुनः सहज रूपमा सेवा पाउन थालेको भन्दै राहत महसुस गरेको बताएका छन्।









