पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२, इनर्वा बोर्डरबाट एक जना महिला उद्धार गरी मानवसेवा आश्रम वीरगञ्ज शाखामा भर्ना गरिएको छ। मंगलबार साँझ करिब ४ बजे अन्दाजी ४० वर्षकी ती महिलाले आफ्नो नाम–थर प्रष्ट भन्न नसक्ने अवस्थामा भेटिएकी थिइन्।
उद्धार कार्य जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको पहलमा सम्पन्न भएको हो। उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक एवं सामाजिक अभियन्ता प्रकाश थारु, सशस्त्र प्रहरी कार्यालयका डीएसपी विष्णु राज उप्रेती, वडा अध्यक्ष नेपली प्रसाद कुशवाहा तथा स्वयंसेवक बिकाश माली, सरोज बि.क, र दिपेन्द्र चौधरीको सक्रिय उपस्थिति रहेको थियो।
उद्धार पश्चात् महिलालाई आश्रममा लगेपछि सरसफाइ गरी नुहाइ–धुहाइ गरिएको छ। त्यसपछि डा. भरत गोईको निगरानीमा औषधोपचार सुरु गरिएको मानवसेवा आश्रमले जानकारी दिएको छ।
मानवसेवा आश्रमले सडक वा असहाय अवस्थामा भेटिएका व्यक्तिहरूलाई उद्धार गरी खान, बस्न र उपचारको व्यवस्था गर्दै आएको छ।









