२०८२ चैत्र ६ गते शुक्रबार

वीरगञ्ज युवा समाजद्वारा जेन्–जी आन्दोलनका शहीदलाई दीप प्रज्वलन गरी श्रद्धाञ्जली

 

वीरगञ्ज युवा समाजले जेन्–जी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। वीरगञ्ज युवा समाजका अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा बुधबार साँझ वीरगञ्ज–४ स्थित बिर्ता माइ मन्दिर अगाडि शहीदहरूको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो।

सो अवसरमा वीरगञ्ज युवा समाजका वरिष्ठ सल्लाहकार तथा वरिष्ठ चिकित्सक डा. श्यामसुन्दर दासले दीप प्रज्वलन गर्दै शहीदहरूको आत्माको चिरशान्तिका लागि १ मिनेट मौन धारण गरेका थिए।

कार्यक्रममा अध्यक्ष थापाले जेन्–जी पुस्ताका युवाहरूले सरकारविरुद्ध गरेको आन्दोलनको उद्देश्य भ्रष्टाचार, अव्यवस्था, अनियमितता, बेरोजगारी र जनताप्रतिको जवाफदेहिता अन्त्य गर्दै भ्रष्टाचारमुक्त सुनौलो भविष्य, सुशासन र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताए। उनले शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे र दिवंगत आत्माको चिरशान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

थापाले भने, जेन्–जी आन्दोलनका शहीदहरूले देश, जनता र आउने पुस्ताका लागि आफ्नो प्राणको आहुति दिएका हुन्। उनीहरूले देखेको भ्रष्टाचारमुक्त, समृद्ध र सुनौलो नेपालको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ र यही नै हाम्रो तर्फबाट सच्चा श्रद्धाञ्जली हुनेछ। उनले सबैलाई सजग भई देशलाई साथ दिन र हातेमालो गर्न आग्रह गरे।

कार्यक्रममा वीरगञ्ज युवा समाज, भगवती युवा क्लबका पदाधिकारी तथा सदस्य, स्थानीय अग्रज, महिला र युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले जेन्–जी शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सपना पूरा गर्न आफूहरू सधैं एकताबद्ध भएर तयार रहने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM