२०८२ चैत्र ५ गते बिहीबार

पर्सामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण, मधेश प्रदेशमा पहिलो ऐतिहासिक कदम

 

पर्सा । मधेश प्रदेशको भूमि व्यवस्थापनमा ऐतिहासिक कदम चाल्दै पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीहरूले लालपूर्जा (जग्गाधनी पुर्जा) प्राप्त गर्न थालेका छन्।

भूमि समस्या समाधान आयोग, पर्साले शनिबार सखुवा प्रसौनी गाउँपालिका–१, सथवलबाट लालपूर्जा वितरणको औपचारिक सुरुवात गरेसँगै दशकौँ लामो प्रतीक्षाको अन्त्य भएको हो।

यस क्रममा आयोगका अध्यक्ष तबरेज अहमद र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संयुक्त रूपमा ४४ जना भूमिहीनलाई लालपूर्जा हस्तान्तरण गरेका छन्। तीमध्ये ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासी रहेका छन्।

आयोगका अध्यक्ष अहमदले लालपूर्जा वितरणलाई आफ्नो जीवनकै खुसीको क्षण भएको उल्लेख गर्दै भने,
“मैले अध्यक्षको जिम्मेवारी सम्हाल्ने बेलामै लालपूर्जा वितरण गर्ने वाचा गरेको थिएँ। आज त्यो वाचा पूरा भएको छ, यो दिन मेरो लागि अविस्मरणीय छ।”

यो अभियान पर्साबाट सुरु भए पनि मधेश प्रदेशकै लागि पहिलो हो। आयोगले जिल्लाभर ५,१७८ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य लिएको छ।

आयोगका अनुसार, वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी र सखुवा प्रसौनी गाउँपालिकाबाट प्राप्त सबै आवेदनहरूको प्रमाणीकरण तथा नापजाँच प्रक्रिया पूरा भइसकेको छ।

सथवलमा पहिलो चरणको वितरण सम्पन्न भएपछि अब दशैँलगत्तै ठोरी गाउँपालिका–४ का १,१९७ जनालाई जग्गाधनी पुर्जा दिने तयारी भइरहेको अध्यक्ष अहमदले जानकारी दिए। बाँकी ५,१३४ जनाको पनि सबै आवश्यक प्रक्रिया पूरा भएकाले छिट्टै उनीहरूलाई समेत लालपूर्जा वितरण गरिने उनले बताए।

यो पहलले वर्षौँदेखि भूमिहीन भएर असुरक्षित बसोबास गर्दै आएका हजारौँ परिवारलाई नयाँ जीवनको आशा र स्थायित्व दिने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM