पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका–१६ स्थित नगवा पानी ट्याङ्कीमा रहेको बालकुमार राउत कुर्मीको घरको सटरमा भन्सार छली गरी चोरी पैठारी गरेर कपडाहरु भण्डारण गरिएको विशेष सूचनाको आधारमा नं. १३ गण पर्साले आज बिहान ठूलो अभियान सञ्चालन गरेको छ।
प्र.सी.सु.गुल्म बीरगञ्जका स.प्र.ना.उ. पुरुषोत्तम भण्डारीको कमाण्डमा ९ जना सुरक्षाकर्मी र बीरगञ्ज भन्सार कार्यालयका ना.सु. सुवर्ण पौडेलसहित २ जनाको संयुक्त टोली खटिएको थियो। उक्त टोलीले स्थलमा पुगेर तलासी गर्दा अन्दाजी रु. ५,००,००० बराबरको कपडा तथा किराना सामान बरामद गर्न सफल भएको हो।
बरामद गरिएका सामानलाई कानूनी प्रक्रिया पूरा गरी बीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको सुरक्षाकर्मीहरूले जनाएका छन्। यस कारबाहीपछि स्थानीय क्षेत्रमा भन्सार छलीका गतिविधिमा रोक लाग्ने र व्यापारी तथा सर्वसाधारणलाई कानूनी दायराभित्र व्यापार गर्न प्रेरित गर्ने विश्वास गरिएको छ।









