दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसहित वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण गरेको छ। प्रत्येक दिन आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० बजेदेखि ५ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नो कार्यालयबाट गरीब, असहायलाई नि:शुल्क कपडा उपलब्ध गराउँदै आएको बैंकले यसपटक दशैं पर्वको अवसरमा शुक्रबार घण्टाघरमा नयाँ र पुराना गरी करिब ९५० थान कपडा वितरण गरेको सचिव कन्हैया पटेलले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका वरिष्ठ सल्लाहकार समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले मानव सेवा नै सर्वोत्तम धर्म भएको भन्दै सबैले आफ्नो आम्दानीको कम्तीमा ५ प्रतिशत रकम दिनदुखी तथा असहायको सेवामा लगानी गर्नुपर्नेमा जोड दिए। उनले दशैं पर्व सत्य, हर्ष, उल्लास, आपसी एकता र भाइचारा बलियो बनाउने पर्व भएकाले यसलाई शान्तिपूर्वक र खुशीपूर्वक मनाउन आग्रह गर्दै सम्पूर्णलाई बधाई तथा शुभकामना व्यक्त गरे।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता र संरक्षक पन्नालाल गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बिशिष्ट अतिथि बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत, श्रवण बहादुर रायमाझी, रुपशिला जैसवाल, घण्टाघर प्रहरी पोस्टका प्रमुख असईराम बिनोद झा, उपाध्यक्ष प्रकाश थारु, सदस्य निला कुमारी राम, जानकी देवी, हरेन्द्र पटेल, नवराज भट्टराई, केदार गुप्ता, राजेश श्रीवास्तव, राहुल सिंह राजपुत, उज्ज्वल कुमार महरा तथा पत्रकार शम्भु महतो थारु, अजित भुजेल, राज सर्राफ, निरन्जन साह, सन्तोष कुश्वाहा र अर्जुन चौधरीको उपस्थितिमा सम्पन्न भएको सचिव पटेलले जानकारी दिए।
सो अवसरमा बिशिष्ट अतिथि उपाध्यायले नयाँ लुगा किन्ने सामर्थ्य सबैसँग नभएको अवस्थामा नया र नयाँ जस्ता कपडा उपलब्ध गराएर असहाय, बिपन्नको अनुहारमा खुशी ल्याउने कार्य समाजको साझा जिम्मेवारी भएको बताए। उनले सबैलाई कपडा बैंकको अभियानमा हातेमालो गर्न आग्रह गर्दै दशैंको शुभकामना दिए।
कार्यक्रममा अध्यक्ष सिंहले बैंकलाई सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी र सदस्यहरूलाई धन्यवाद दिँदै देश–विदेशमा रहेका सम्पूर्णलाई दशैंको शुभकामना व्यक्त गरे।









