२९औं विश्व अण्डा दिवसको अवसरमा वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी तथा तिनका कुरुवाहरूलाई अण्डा वितरण गरिएको छ। वीरगन्ज उद्योग वाणिज्य संघको समन्वयमा शिवम लेयर्स फार्म प्रा.लि. द्वारा आयोजित उक्त कार्यक्रममा करिब ३५० जना बिरामी र कुरुवाहरूलाई निःशुल्क अण्डा वितरण गरिएको हो।

कार्यक्रमको उद्देश्य समुदायमा स्वस्थ आहारको रूपमा अण्डाको महत्वबारे जनचेतना जगाउनु र प्रोटिनयुक्त पोषणको प्रचार–प्रसार गर्नु रहेको आयोजक पक्षले जनाएको छ।
शिवम लेयर्स फार्मका सञ्चालक शिवजी प्रसाद कलवारले अण्डा प्रोटिनको उत्कृष्ट स्रोत भएकोले यसको नियमित सेवनले शरीरलाई सन्तुलित पोषण प्रदान गर्ने बताए। उनले अण्डा सस्तो, सुलभ र पौष्टिक आहार भएकाले सबै उमेरका मानिसका लागि लाभदायी हुने उल्लेख गरे।
त्यसैगरी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले यस्ता सामाजिक उत्तरदायित्वयुक्त कार्यमा उद्योग व्यवसायीहरूको सक्रिय सहभागिता सराहनीय रहेको बताए। उनका अनुसार यस किसिमका कार्यक्रमहरूले उद्योग–व्यवसाय समुदायको समाजप्रति जिम्मेवारी र योगदानलाई प्रतिविम्बित गर्छन्।
कार्यक्रममा संघका सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेश टिबडेवाल, कार्यसमिति सदस्य अजय प्रजापती, नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा सामाजिक अभियन्ताहरूको समेत उपस्थिति रहेको थियो।
अण्डा वितरणसँगै सहभागीहरूलाई अण्डाको पोषण मूल्य, यसको दैनिक सेवनका फाइदा र स्वस्थ जीवनशैलीमा यसको योगदानबारे जानकारी पनि प्रदान गरिएको थियो।









