वीरगञ्ज महानगरपालिका–२६ सुगौली विर्तामा जारी मेला महोत्सव अन्तर्गत आयोजना गरिएको कुस्ती प्रतियोगिताको भव्य उद्घाटन संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले गर्नुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै अमात्यले खेलकुद समाजमा एकता, अनुशासन र सद्भाव फैलाउने माध्यम भएको बताउँदै, यस्ता प्रतियोगिताले स्थानीय युवा र खेलाडीहरूलाई प्रेरित र उत्साहित बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले खेलकुद क्षेत्रमा सरकारको लगानी र सहयोग अझ बढाउनुपर्नेमा पनि जोड दिनुभयो।
कुस्ती प्रतियोगिताको उद्घाटनसँगै भारतका चर्चित पहलवान अब्दुल गनी र नेपालका कुशल पहलवान देवा थापाबीचको पहिलो रोमाञ्चक प्रतिस्पर्धाले दर्शकहरूको ध्यान खिच्यो। खेलमैदानमा हजारौँ दर्शकहरूको उपस्थितिसँगै माहोल उत्साहपूर्ण बनेको थियो। आयोजक समितिका अनुसार मेला भर्खरै प्रारम्भ भए पनि दर्शकहरूको भीड दिनप्रतिदिन बढ्दै गएको छ।
सुगौली विर्ता मेला महोत्सवको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको यो कुस्ती प्रतियोगितामा नेपाल र भारतका धेरै चर्चित पहलवानहरू सहभागी हुने जानकारी आयोजकले दिएको छ।
सो अवसरमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र दुबे, समानुपातिक उम्मेदवार शम्भू चौहान, विजय कर्ण, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, विजय उपाध्याय, रोशन लामीछाने, मनोज यादव, मुकेश गुप्ता, मनोज गुप्ता, मनोहर साह, मनोज कुमार साह, सञ्जय चतुर्वेदी, सन्तोष कुमार गुप्ता, गौरीशंकर गुप्ता, अवधेश साह, अगन्त चौरसिया, रुपेश साह, राहुल गुप्ता लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
आयोजक समितिका अनुसार मेला महोत्सवमा सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादनहरूको प्रदर्शनी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएका छन्। मेला आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुने बताइएको छ, जसले स्थानीयवासीमा उत्साह र उल्लास थपिएको छ।









