२०८२ चैत्र ४ गते बुधबार

दुई दिने वार्षिक समिक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न : स्वास्थ्य सेवा सुधार तथा आगामी वर्षका कार्यदिशा तय

 

स्वास्थ्य कार्यालय पर्साद्वारा आयोजित दुई दिने वार्षिक समिक्षा गोष्ठीको दोस्रो दिन सोमबार वीरगंजस्थित क्लासिक होटलमा सफलतापूर्वक सम्पन्न भयो। आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य कार्यक्रमहरूको समिक्षा, उपलब्धिको मूल्यांकन तथा आगामी वर्षका कार्यदिशा तय गर्ने उद्देश्यले आयोजना गरिएको गोष्ठी स्वास्थ्य कार्यालय पर्साका कार्यालय प्रमुख विनोद झाको अध्यक्षतामा सम्पन्न भएको हो।

दोस्रो दिनका विभिन्न सत्रहरूमा मातृ–शिशु स्वास्थ्य, खोप कार्यक्रम, सरुवा रोग नियन्त्रण, गैर–सञ्चारी रोग व्यवस्थापन, पोषण तथा समुदायस्तरका कार्यक्रमहरूको विस्तृत प्रगति विवरण प्रस्तुत गरिएको थियो। साथै, स्वास्थ्य सेवाको पहुँच, सेवा गुणस्तर, जनचेतना तथा आगामी वर्षका प्राथमिकताहरूमा केन्द्रित रहँदै प्राविधिक तथा प्रशासनिक दुवै तहका प्रतिनिधिहरूले महत्वपूर्ण सुझावहरू पनि राखेका थिए।

गोष्ठीमा पर्सा जिल्लाका १४ वटै स्थानीय तहको वार्षिक कार्यसम्पादन मूल्यांकन गरी वर्गीकरण गरिएको थियो। सो मूल्यांकनमा ठोरी गाउँपालिका प्रथम, जगरनाथपुर गाउँपालिका दोस्रो, वीरगंज महानगरपालिका तेस्रो, सखुवाप्रसौनी गाउँपालिका चौथो, पोखरिया नगरपालिका पाँचौं स्थानमा रहेका छन्। यस्तै पटेर्वा सुगौली छैटौं, जिराभवानी सातौं, छिपहरमाई आठौं, बहुदरमाई नवौं, पर्सागढी दशौं, बिन्दवासिनी एघारौं, पकाहाँ मैनपुर बाह्रौं, धोबिनी तेह्रौं र कालिकामाई चौधौं स्थानमा रहेका स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।

गोष्ठीमा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउँदै आएका NGO/INGO हरूलाई मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज चन्द्र न्यौपाने तथा अतिथिहरूमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, प्रमूख प्रशासकीय अधिकृत सन्देश कुमार यादव लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समापन सत्रमा वक्ताहरूले स्वास्थ्य सेवा सुधारका लागि आवश्यक समन्वय, स्रोत अभिवृद्धि तथा परिणाममुखी कदमहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। समापन मन्तव्य दिँदै कार्यालय प्रमुख विनोद झाले भने
दुई दिने वार्षिक समिक्षा गोष्ठीले आगामी वर्षका लागि अझ स्पष्ट र प्रभावकारी रणनीति निर्माणमा ठूलो सहयोग पुगेको छ। सबैको सामूहिक प्रयासकै कारण पर्सा जिल्ला स्वास्थ्य सूचकमा निरन्तर उत्कृष्ट हुन सफल भएको छ।कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM