काठमाडौं । अकबर खानको नेतृत्वमा रहेको राष्ट्र निर्माण दल नेपाल आजै निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ। दर्तासँगै दल संगठन बिस्तार, वैचारिक अभियान र वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ केन्द्रित हुँदै आफ्नो औपचारिक यात्रा अघि बढाउन तयार भएको दलका उपाध्यक्ष खगेन्द्रप्रसाद ढकालले जानकारी दिए।
दल दर्तापछि आजै अपरान्ह दलकाे केन्द्रीय सम्पर्क कार्यालय सिनामङ्गलमा केन्द्रीय समितिकाे पहिलाे बैठक बस्याे । बैठकले संगठन बिस्तार, आगामी निर्वाचनकाे तयारी र घाेषणा सभाबारे कैयाैँ निर्णयहरू गरेकाे छ ।
दलले ३६ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । यसमा देशका विभिन्न प्रदेश, समुदाय र युवा पिँढीलाई समेटिएको छ। दलमा काठमाडाैँका अकबर खान अध्यक्ष, झापाका खगेन्द्रप्रसाद ढकाल उपाध्यक्ष, सुनसरीका गुरुदेवराम महासचिव र सिरहाका युवा नेतृ शाबाना मुमताज सचिवकाे भूमिकामा छन् ।
प्रवक्ता अफराेज मन्सुरका अनुसार देशभरबाट नयाँ नेतृत्वहरू, विशेष गरी जेनजी समूह र युवा पिढी तीव्र गतिमा दलमा आकर्षित भइरहेका छन् ।
प्रवक्ता मन्सुरका अनुसार आजै साँझ सुनसरी, माेरङ, कपिलवस्तु, सप्तरी, धनुषा, राैतहट, पर्सा, कास्की र काठमाडाैँमा पाँच सय बढी युवा नमुनाकाे रूपमा पार्टीकाे सदस्यता लिएका छन् ।
दल दर्तासँगै दलले केही दिनभित्र नै काठमाडौँमा विशाल घोषणा–सभा आयोजना गर्ने तयारी गरेको छ। सो सभामा राष्ट्र निर्माण दल नेपालको वैचारिक कार्यदिशा, दीर्घकालीन नीति–कार्यक्रम, आर्थिक–सामाजिक दृष्टिकोण तथा राष्ट्रिय पुनर्निर्माणको रोडम्याप सार्वजनिक गरिनेछ। यसको तयारीलाई दलले ऐतिहासिक प्रारम्भिक कदमका रूपमा लिएको छ।
दलका उपाध्यक्ष ढकालका अनुसार राष्ट्र निर्माण दल नेपालको उदय कुनै आकस्मिक प्रक्रिया होइन; देशमा बढ्दै गएको आर्थिक अनियमितता, बेथिति, जातीय विभाजन, शासन व्यवस्थामा देखिएको कमजोरी र संविधान कार्यान्वयनमा देखिएको उदासीनताले जनतामा परम्परागत राजनीतिक दलप्रति गहिरो असन्तुष्टि सिर्जना गरेको छ। विशेष गरी राजनीतिक दलहरूको प्रदर्शनप्रति निराश युवा पुस्ता नयाँ वैकल्पिक शक्तिको खोजमा रहेको बेला राष्ट्र निर्माण दल नेपाल त्यसैको जवाफकाे रूपमा जन्मिएको हाे ।
दलले आधुनिक अर्थतन्त्रको अधिकतम उपयोग र पूँजीवादी संरचनासँग व्यावहारिक सहकार्य गर्दै, नेपाली सभ्यता र मौलिकतामा आधारित समाजवादी दर्शनलाई समाहित गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेको छ। यसका साथसाथै बहुलवाद, संघीयता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सुधारिएको संघीय प्रणाली निर्माण, नेपालकाे माैलिकतामा आधारित पूर्ण धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षता, सामाजिक तथा धार्मिक सद्भाव, सामाजिक न्याय, भ्रष्टाचारमुक्त समाजको परिकल्पना, ऐतिहासिक पहिचानको सम्मान, राष्ट्रिय अखण्डतामा प्रभाव नपर्ने जन–स्वशासन तथा स्वायत्तता र सुधारिएको निर्वाचन प्रणाली जस्ता विषयहरूलाई आफ्नो मुख्य नीति मानेको छ।
दलले ‘गाेलाे घेराभित्र पानीको बोतल’ लाई आफ्नो आधिकारिक चुनाव चिन्हकाे रूपमा दर्ता गराएकाे छ। प्रवक्ता मन्सुरका अनुसार यो चिन्हले पारदर्शिता, सरलता र जीवनदायी राजनीति गर्ने दलको प्रतिबद्धता झल्काउँछ।
दलका सचिव शाबाना मुमताजले भनिन्, “राष्ट्र निर्माण दल नेपाल अब मूलधारको राजनीतिमा प्रवेश गरी सुशासन, राष्ट्रिय मेलमिलाप, राजनीतिक स्थिरता र नेपाली मौलिकतामा आधारित आधुनिक व्यवस्था निर्माण गर्ने राष्ट्रिय शक्ति बन्ने दृढ संकल्पका साथ अघि बढ्दैछ।”
दर्ता सम्पन्न भएसँगै मङ्शिरकै अन्तिम सातातिर दलले आफ्नो पहिलो ठूलो सार्वजनिक उपस्थिति—घोषणा–सभा—मार्फत देशव्यापी परिचय र वैचारिक स्पष्टता प्रस्तुत गर्न तयारी अवस्थामा छ। नेपालको बदलिँदो राजनीतिमा यो दल कस्तो प्रभावशाली विकल्पको रूपमा अगाडि भन्नेबारे चासो बढेको छ।
दलका उपाध्यक्ष ढकालका अनुसार याे दलकाे गठन तराई र पहाडका २०-२५ जिल्लामा गृहकार्य गरेर दर्ता भएकाे हुँदा याे दल वैकल्पिक राजनीतिक शक्ति मात्र नबनी मूलधारकै उदाउँदाे शक्तिकाे रूपमा आउने तरखरमा छ । देशभरका युवाहरू दलमा आबद्ध हुन सम्पर्कमा छन् ।
‘हामी नयाँ भएता पनि राष्ट्रिय राजनीतिमा पहिचान बनाएका अलग अलग समुदायका दर्जनाै नेताहरू हाम्राे घाेषणा सभाकाे दिन सार्वजनिक हुने कार्यक्रम रहेकाे छ । याे दल हाेडबाजी र रहरमा स्थापना भएकाे छैन । याे नयाँ नैपाल निर्माण अभियानलाई गन्तव्यमा पुर्याउन जन्मेकाे राष्ट्रिय दल हाे ।’ प्रवक्ता मन्सुरले बताए ।









