२०८२ चैत्र ४ गते बुधबार

बीरगंज–रक्सौल मितेरी पुल क्षेत्रमा मेयर राजेशमान सिंहद्वारा वृक्षारोपण, हरियाली अभियानको २२औँ दिन सम्पन्न

 

बीरगंज महानगरपालिका–१६ अन्तर्गत पर्ने रक्सौल–बीरगंज मितेरी पुल क्षेत्रको हरियाली र सौन्दर्यकरणलाई अझ प्रभावकारी बनाउन आज नगर प्रमुख मेयर राजेशमान सिंहले वृक्षारोपण गर्दै हरियाली तथा स्वच्छता अभियानको शुभारम्भ गर्नुभएको छ। हरियाली संरक्षण, पर्यावरणीय स्वच्छता तथा सीमाक्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई मुख्य उद्देश्य बनाएर सञ्चालन भइरहेको सफाइ तथा वृक्षारोपण अभियान आज २२औँ दिनमा पुगेको छ।

यो अभियान बीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर्स पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त पहलमा निरन्तर रूपले सञ्चालन हुँदै आएको छ। अभियानअन्तर्गत आज मेयर सिंहले १० देखि १५ फिट उचाइको बिरुवा रोपेर कार्यक्रमलाई निरन्तरतासाथ अघि बढाउनु भएको हो।

सीमाक्षेत्रमा बढ्दो शहरीकरणका बीच वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली संरक्षणलाई संस्थागत बनाउने तथा क्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई निरन्तरता दिने उद्देश्यका साथ यो अभियान सक्रिय रूपमा सञ्चालन हुँदै आएको छ।

अभियानले २२ दिनदेखि दैनिक रूपमा सफाइ, वृक्षारोपण तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै स्थानीयवासी र सुरक्षाकर्मीको सक्रिय सहभागिता सुनिश्चित गर्दै आएको छ। मेयर सिंहले यस्ता गतिविधिले बीरगंज–रक्सौल सीमाक्षेत्रलाई थप स्वच्छ, हरियालीयुक्त र व्यवस्थित शहरको नमूना बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM