वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले आज वडा नं. १५ भेडीयाहीस्थित सार्वजनिक जग्गाको स्थलगत निरीक्षण गरेका छन्। स्थानीय युवाहरूको लामो समयदेखिको मागअनुसार उक्त क्षेत्रलाई व्यवस्थित क्रिकेट मैदानका रूपमा विकास गर्ने उद्देश्यले गरिएको यो निरीक्षणले खेलकुद पूर्वाधार निर्माणप्रति महानगरको ध्यान केन्द्रित भइरहेको स्पष्ट पारेको छ।
निरीक्षणका क्रममा उप–प्रमुख आलमले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न, उनीहरूको प्रतिभा निखार्न तथा स्वस्थ समाज निर्माणका लागि खेल पूर्वाधार अत्यावश्यक भएको धारणा राखे। उनले महानगरपालिकाले आवश्यक सहयोग, बजेट तथा समन्वयमार्फत खेल मैदान निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता जाहेर गरे।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल प्रसाद सिंह, पूर्व वडा अध्यक्ष गजेन्द्र पटेलसहितका वडा प्रतिनिधि, स्थानीय समाजसेवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति थियो। स्थानीय युवाहरूले खेल मैदान नहुँदा वर्षौँदेखि अभ्यास तथा प्रतियोगिता सञ्चालनमा कठिनाइ भोग्दै आएको बताउँदै शीघ्र निर्माण प्रक्रिया शुरू गर्न आग्रह गरेका थिए।
युवाहरूको समस्या सुनेपछि उप–प्रमुख आलमले उनीहरूको माग पूर्णरूपमा उचित रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया द्रुत रूपमा पूरा गरी भेडीयाहीस्थित सार्वजनिक जग्गालाई आधुनिक र व्यवस्थित क्रिकेट मैदानको रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे।









