२०८२ चैत्र ३ गते मंगलवार

मितेरी पुल क्षेत्रमा आधुनिक लाइटिङ्ग स्थापना, वीरगञ्ज महानगरको दिगो विकासतर्फ थप कदम

 

वीरगञ्ज महानगरपालिकाले नेपाल–भारत सीमास्थित सहरको प्रमुख प्रवेशद्वार मितेरी पुल आसपासको सम्पूर्ण क्षेत्रलाई दिगो र आधुनिक उज्यालोसहित सिंगार्ने उद्देश्यले व्यापक लाइटिङ्ग परियोजना सुरु गरेको छ। सहरको सुरक्षा, सहजता र सौन्दर्य वृद्धि गर्ने लक्ष्यसहित अगाडि बढाइएको यो काम तीव्र गतिमा अघि बढिरहेको छ।

महानगरका मेयर राजेशमान सिंहको सक्रिय नेतृत्व, स्पष्ट रणनीति र निरन्तर अनुगमनकै कारण परियोजना प्रभावकारी र योजनाबद्ध तरिकाले अघि बढेको महानगरले जनाएको छ। मितेरी पुललाई आकर्षक र सुरक्षित प्रवेशद्वारका रूपमा पुनःस्थापित गर्ने अभियानअन्तर्गत सुरु गरिएको लाइटिङ्ग कार्यलाई मेयर सिंहले ‘सहरको पहिचान उकास्ने महत्वपूर्ण पहल’ भनेका छन्।

लाइटिङ्ग परियोजनाको सम्पूर्ण प्राविधिक पक्ष इन्जिनियर राजीव उपाध्यायको मार्गदर्शनमा सम्पन्न हुँदैछ। ऊर्जा–दक्ष तथा वातावरणमैत्री एलईडी प्रणाली प्रयोग हुँदै, कामको गुणस्तर सुनिश्चित गर्न प्राविधिक टिमले निरन्तर फिल्ड सुपरिवेक्षण गरिरहेको छ।

मितेरी पुल क्षेत्रमा दैनिक हजारौँको आवतजावत हुने भएकाले उज्यालो व्यवस्थाले रात्रीकालीन सुरक्षामा सघाउ पुर्‍याउने, पैदल यात्री तथा सवारी साधनको सहजता बढाउने र क्षेत्रको समग्र सौन्दर्यलाई निखार्ने अपेक्षा गरिएको छ। लाइटिङ्गसँगै सफाइ, हरियाली र सौन्दर्यकरण अभियान जोडिँदा मितेरी पुल क्षेत्र अब आधुनिक सहरको नमुना ‘गेटवे’ का रूपमा विकसित हुने देखिन्छ।

सुरक्षित, उज्यालो र व्यवस्थित वीरगञ्ज निर्माणतर्फ महानगरले अघि सारेको यो पहलले विकासप्रति रहेको प्रतिबद्धता झनै स्पष्ट बनाइदिएको स्थानीयवासीको प्रतिक्रिया छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM