२०८२ चैत्र ३ गते मंगलवार

आन्दोलनको नाममा आगजनी र लुटपाट गर्नेविरुद्ध कारबाही सुरु, वीरगन्ज मेयरको घरमा आगो लगाएको अभियोगमा एक पक्राउ

 

आन्दोलनको बहानामा व्यक्तिका घर तथा सम्पत्तिमा आगजनी र लुटपाट गर्नेहरुविरुद्ध पर्सा प्रहरीले कारबाही सुरु गरेको छ। भदौं २३ र २४ गते युवापूस्ता (जेन–जेड) को आन्दोलनका क्रममा वीरगन्जका विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता भएपछि अनुसन्धान अघि बढाइएको हो।

यसै क्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको घरमा आगजनी गरेको अभियोगमा प्रहरीले वीरगन्ज–१० रानीघाट निवासी रञ्जन सिंह राजपुतलाई पक्राउ गरेको छ। नगरप्रमुख सिंहका परिवारले दिएको किटानी जाहेरीका आधारमा राजपुतलाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकले जानकारी दिनुभयो।

एसपी पाठकका अनुसार भदौं २४ गते अपराह्न वीरगन्ज–३ स्थित नगरप्रमुख सिंहको निजी निवासमा पुगेर राजपुतसहितको समूहले आगजनी गरेको आरोपमा आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। राजपुतले नेतृत्व गरेको भीडले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउँदै आगजनी गरी जनधनको जोखिम बढाएको भन्दै उनीमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, भदौं २४ गते वीरगन्जका विभिन्न स्थानमा भएको निजी तथा सार्वजनिक क्षतिको विषयमा थप उजुरीहरू दर्ता भइसकेको र ती उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी प्राप्त गरी घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य समेत सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM