वीरगञ्ज । भोजपुरी लोकसंस्कृतिका महान साधक, सुप्रसिद्ध नाटककार तथा “भोजपुरीका शेक्सपियर”का रूपमा परिचित भिखारी ठाकुरको १३७औँ जन्मजयन्तीको अवसरमा भोजपुरी प्रतिष्ठान, वीरगञ्जले काव्य गोष्ठी कार्यक्रम आयोजना गरेको छ।
वीरगञ्ज–८ स्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भिखारी ठाकुरको जीवनयात्रा, उनका सामाजिक चेतनायुक्त नाटक, गीत तथा साहित्यिक योगदानबारे गहिरो चर्चा–परिचर्चा गरेका थिए। कविता, मुक्तक र गीतमार्फत ठाकुरको बहुआयामिक व्यक्तित्व र भोजपुरी भाषा–साहित्यमा पुर्याएको अतुलनीय योगदान स्मरण गरिएको थियो।
प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार गोपाल अश्क, दिनेश गुप्ता, प्रमोद पाण्डेय, नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, रतुराज पटेल, अजमत अलीलगायत साहित्यकार छोटेलाल साह, साविर अंसारी, अस्मिता पटेल, प्रतिष्ठानका सदस्य सचिव अमित अग्रवाल तथा सदस्यहरू मुकेश महतो, अजय चौरसियालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले भिखारी ठाकुरको तस्बिरमा फूल तथा अविर अर्पण गर्दै भोजपुरी भाषा, संगीत, नाटक र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनको योगदान आज पनि प्रेरणाको स्रोत रहेको बताए। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अमोद गुप्ताले गरेका थिए।









