२०८२ चैत्र ३ गते मंगलवार

हिन्दू पत्रकार संघ नेपाल गठनप्रति राष्ट्रिय समता पार्टीको शुभकामना, पत्रकारिता र राष्ट्रिय हितमा सकारात्मक भूमिका अपेक्षा

 

विरगन्ज राष्ट्रिय समता पार्टी नेपालले हालै गठन भएको हिन्दू पत्रकार संघ नेपाल तथा यसको नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा बधाई तथा शुभकामना व्यक्त गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै नयाँ संगठनको सफल कार्यकालको कामना गरेको हो।

पार्टीका केन्द्रीय महासचिव डा. अभिषेक तिवारीद्वारा हस्ताक्षरित शुभकामना पत्रमा संघका नवनियुक्त अध्यक्ष राजन रौनियारसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई सफलताको शुभेच्छा प्रकट गरिएको छ। विज्ञप्तिमा हिन्दू पत्रकार संघ नेपालले स्पष्ट लक्ष्य, नीति र कार्यदिशा तय गरी अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।

शुभकामना सन्देशमा भनिएको छ, “हिन्दू पत्रकार संघ नेपालले समाज, राष्ट्र तथा पत्रकारिता क्षेत्रको समग्र हितका लागि अनुकरणीय र सकारात्मक कार्य गर्दै व्यावसायिक पत्रकारिताको मर्मलाई अझ सुदृढ बनाओस् भन्ने हाम्रो कामना छ।”
कलंकीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट जारी गरिएको उक्त विज्ञप्तिमा नयाँ संगठनले निष्पक्ष, उत्तरदायी र व्यावसायिक पत्रकारिताको प्रवर्द्धन गर्दै राष्ट्रियता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा प्रभावकारी भूमिका खेल्ने विश्वास पनि व्यक्त गरिएको छ।

राष्ट्रिय समता पार्टीले हिन्दू पत्रकार संघ नेपालले पत्रकारहरूको हक–हित संरक्षण, क्षमता अभिवृद्धि तथा सत्य, तथ्य र उत्तरदायी समाचार सम्प्रेषणमा योगदान पुर्‍याउने अपेक्षा समेत गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM