२०८२ चैत्र ३ गते मंगलवार

कलैयामा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न

 

मिडिया काउन्सिल मधेस प्रदेशद्वारा बुधबार बाराको कलैयामा ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गोष्ठीको मुख्य उद्देश्य सञ्चारकर्मीलाई वर्तमान सञ्चार परिप्रेक्ष्य, देखिएका चुनौती र सम्भावित समाधानका उपायबारे जानकारी गराउनु रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सञ्चारमाध्यमको वर्तमान अवस्था र यसले भोगिरहेका चुनौतीबारे आफ्नो धारणा राख्नुभयो। उहाँले सञ्चार क्षेत्रका अवसर र समस्यामाथि चर्चा गर्दै भन्नुभयो,

“सञ्चारमाध्यम समाजको ऐना हुन्। तर प्रविधि र जनसंख्यामा आएको परिवर्तनसँगै सञ्चारमाध्यमले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन्। गुणस्तरीय समाचार, तथ्यपरक रिपोर्टिङ र स्वतन्त्र पत्रकारिताको सुनिश्चितता आजको आवश्यकता हो।”
सोनलले डिजिटल माध्यमको बढ्दो प्रभाव, पत्रकारहरूको सुरक्षाको महत्व तथा सञ्चार क्षेत्रको व्यावसायिक विकासबारे समेत प्रकाश पार्नुभयो। उहाँले स्थानीय

सञ्चारमाध्यमको प्रवर्द्धन गर्दै आधुनिक प्रविधिसँग अद्यावधिक हुन आवश्यक रहेको बताउनुभयो।मिडिया काउन्सिलका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायत बारा–पर्साका सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले सञ्चार क्षेत्रमा देखिएका समसामयिक समस्या र चुनौतीबारे आफ्ना धारणा राख्दै समाधानका उपायमा जोड दिएका थिए। मिडिया काउन्सिलका प्रतिनिधिहरूले गोष्ठीमार्फत गुणस्तरीय, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषणमा विशेष ध्यान दिन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM