२०८२ चैत्र ३ गते मंगलवार

नेशनल प्याब्सन पर्सा वीरगञ्जद्वारा एकदिने एस.इ.ई. ट्रेनिङ सम्पन्न, अन्तर्राष्ट्रिय तेक्वान्दो पदक विजेताहरू सम्मानित

 

नेशनल प्याब्सन पर्सा, वीरगञ्जको आयोजनामा रिसेप नलेज एजुकेसनको सहकार्यमा वीरगञ्जको नगर सभागृहमा एकदिने एस.इ.ई. ट्रेनिङ–२०८२ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वीरगञ्ज तथा आसपासका विभिन्न विद्यालयबाट ७ सयभन्दा बढी विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा काठमाडौँबाट आएका अनुभवी प्रशिक्षकहरूले विद्यार्थीहरूका लागि ध्यान (मेडिटेसन), प्रेरणामूलक (मोटिभेसनल) सत्र तथा मनोवैज्ञानिक तयारीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए। एस.इ.ई. परीक्षालाई लक्षित गर्दै विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि, तनाव व्यवस्थापन र लक्ष्य निर्धारणमा केन्द्रित प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा भारतमा सम्पन्न तेस्रो कालिम्पोङ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक हासिल गर्ने पर्सा–वीरगञ्जका खेलाडीहरूलाई विशेष सम्मान गरिएको थियो। प्रतियोगितामा सनराइज तेक्वान्दो डोजाङका खेलाडी स्वयम् मान रन्जितकार, स्वस्तिक श्रेष्ठ र सिवान्स गुप्ताले स्वर्ण पदक जित्न सफल भएका थिए भने डेबिड राइले कास्य पदक हासिल गरेका थिए।

पदक विजेता खेलाडीहरूसँगै तेक्वान्दो प्रशिक्षक चिफ राजेन्द्र साहीलाई समेत आयोजक समितिद्वारा सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियो। आयोजकले विजेता खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देश र नगरको नाम उच्च राख्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा आयोजक पक्षले शिक्षासँगै खेलकुद पनि विद्यार्थीको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै, आगामी दिनहरूमा यस्ता शैक्षिक तथा खेलकुद–मुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM