२०८२ चैत्र ६ गते शुक्रबार

वीरगञ्ज वडा नं. १० मा शीतलहरबाट सडकमा रहेका कुकुरहरूलाई राहत, ५ स्थानमा कुकुर घर निर्माण

 

वीरगञ्ज महानगरपालिका वडा नं. १० मा शीतलहरको बढ्दो प्रभावलाई मध्यनजर गर्दै सडकमा रहेका बेसहारा कुकुरहरूको संरक्षणका लागि राहत कार्य गरिएको छ। वडा अध्यक्ष सुशील कुमार कानुको नेतृत्वमा वडा भित्रका विभिन्न चौक–चौकमा हाल ५ वटा कुकुर घर निर्माण गरिएको हो।

वडा अध्यक्ष कानुका अनुसार गत वर्ष पनि वडा नं. १० भित्र १० स्थानमा कुकुर घर निर्माण गरिएको थियो। “गत वर्ष बनाइएका घरहरू अहिले मर्मत (रिपेयरिङ) गरिँदै छन्,” उनले बताए। साथै, “यसै हप्ताभित्र थप १५ वटा नयाँ कुकुर घर निर्माण गर्ने व्यवस्था भइरहेको छ,” उनले जानकारी दिए।

वडा अध्यक्ष कानुले मानवसँगै पशुप्रतिको दायित्वलाई स्मरण गराउँदै भने,“आफ्नो बारेमा त सबैले सोच्छन्, तर यी बेसहारा कुकुरहरूको बारेमा पनि सोच्ने काम कसैले गर्नुपर्छ। शीतलहरमा सडकमा रहेका जनावरहरू पनि पीडामा हुन्छन्, त्यसैले वडाले पहल गरेको हो।”
उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च समाजबाट संकलन गरिएको सहयोगबाट व्यवस्थापन गरिएको वडाध्यक्ष कानुले बताए।

स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूको सहकार्यमा गरिएको यो पहलले पशु–कल्याणप्रति सकारात्मक सन्देश दिएको छ।स्थानीयवासीहरूले वडा कार्यालयको यो प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा संवेदनशील कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM