वीरगञ्ज महानगरपालिका वडा नम्बर ८, लिङरोडमा अवस्थित वैष्णो देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा आज वीरगञ्जस्थित होटल डायमण्डमा भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा २ हजार २ सय ३५ जना सेयर सदस्य आबद्ध रहेको जानकारी गराउनुभयो। उहाँले सहकारीले सदस्यहरूको विश्वासका आधारमा निरन्तर प्रगति गर्दै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा सञ्चालक समितिको तर्फबाट संयोजक श्यामकुमार सिंह डंगोलले आर्थिक वर्ष ०८१/८२ को वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष दीपक मान श्रेष्ठले संस्थाको आय–व्यय विवरण सार्वजनिक गर्नुभएको थियो।
वार्षिक साधारण सभामा सञ्चालक समितिका सदस्यहरू सुमित गुप्ता, उत्तमकुमार कानु, रञ्जन अग्रसेन, रोशनी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा मधेस प्रदेशका उपाध्यक्ष पुरण प्रधान, हिसानका जिल्ला उपाध्यक्ष आलोक चौरासिया, प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, सदस्य विजयबल, लेखा समिति संयोजक श्यामकुमार सिंह डंगोल, लेखा परीक्षक अनिलकुमार कर्ण, सेयर सदस्यहरू तथा विभिन्न बचतकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संस्थाका प्रबन्धक कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुका साथै संस्थाको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो। उहाँका अनुसार संस्थाले साना–साना पुँजीहरूलाई सङ्कलन गरी बचतकर्ताहरूलाई समयमै बचत फिर्ता गर्ने, आवश्यक परेका बेला ऋण लगानी गर्ने कार्य गर्दै आएको छ। साथै सहकारीले बचत र ऋण कारोबारसँगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरूमा समेत सक्रिय भूमिका खेल्दै आएको उहाँले बताउनुभयो।
उहाँले वर्तमान विषम आर्थिक परिस्थितिका बाबजुद पनि संस्थाले आफ्नो कारोबारलाई निरन्तरता दिँदै अगाडि बढिरहेको जानकारी सभामा उपस्थित सम्पूर्ण सेयर सदस्यहरूलाई गराउनुभयो।
कार्यक्रमको अन्त्यमा सहकारीको प्रगति र सुदृढीकरणका लागि सबै सेयर सदस्यहरूको सहयोग, विश्वास र सहभागिताको महत्त्व रहेको भन्दै धन्यवाद ज्ञापन गरिएको थियो।

















