२०८२ चैत्र २ गते सोमबार

नेसनल प्याब्सन वीरगञ्जद्वारा २८औँ स्थापना दिवसको अवसरमा आशा किरण केन्द्रमा रहेका बालबालिकालाई खाद्यान्न सहयोग

 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) वीरगञ्ज, पर्साको आयोजनामा संगठनको २८औँ स्थापना दिवस २०८२ को अवसरमा आइतबार वीरगञ्जस्थित चिनीमिल क्षेत्रको आशा किरण केन्द्रमा रहेका सुस्त मनस्थितिका बालबालिकालाई खाद्यान्न तथा खानेकुरा सहयोग प्रदान गरिएको छ।

समाजसेवा र मानवीय उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रम नेसनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष सोनालाल पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेसनल प्याब्सन पर्साका जिल्ला अध्यक्ष राम श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा बोल्दै नगर अध्यक्ष सोनालाल पटेलले संगठनले स्थापना दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराखी सामाजिक सेवासँग जोडेर मनाउँदै आएको उल्लेख गर्नुभयो। उहाँले आशा किरण केन्द्रमा आश्रित बालबालिकालाई गरिएको सहयोगले समाजप्रति उत्तरदायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि राम श्रेष्ठले सुस्त मनस्थितिका बालबालिकाप्रति सहानुभूति, माया र सहयोग आवश्यक रहेको बताउँदै नेसनल प्याब्सनले शिक्षा क्षेत्रमा मात्र नभई समाजसेवामा पनि उदाहरणीय भूमिका निर्वाह गरिरहेको प्रशंसा गर्नुभयो।

कार्यक्रममा आशा किरण केन्द्रका प्रतिनिधिहरूले सहयोगका लागि नेसनल प्याब्सन परिवारप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगी कार्यक्रमले बालबालिकाको दैनिकीमा सकारात्मक प्रभाव पर्ने बताएका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै सदस्य, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM