२०८२ फाल्गुन २१ गते बिहीबार

हिन्दू पत्रकार संघलाई नेपाल जनता पार्टीको उपहार: १० धुरमा भवन र अक्षयकोषसहित तीन पुरस्कारको घोषणा

 

नेपाल जनता पार्टीले पत्रकारिताको माध्यमबाट हिन्दूत्व र समाजको सेवामा लागेका सञ्चारकर्मीहरूको सम्मान र वृत्तिविकासका लागि ठूलो घोषणा गरेको छ। वीरगन्जको रानीसती धर्मशालामा आयोजित एक विशेष समारोहका बीच पार्टीले हिन्दू पत्रकार संघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र वार्षिक रूपमा तीनवटा नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

१० धुर जग्गामा भवन र ६५ हजारको पुरस्कार
नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराजले हिन्दू पत्रकार संघको केन्द्रीय कार्यालयका लागि १० धुर जग्गामा एकतल्ले भवन निर्माण गरिदिने उद्घोष गर्नुभयो। साथै, आगामी वर्षदेखि लागू हुने गरी पार्टीको आर्थिक व्यवस्थापनमा संघको निर्णय बमोजिम वितरण गरिने गरी कुल ६५ हजार रुपैयाँ राशिको तीनवटा पुरस्कार घोषणा गर्नुभयो।

१. काशीनाथ तिवारी पुरस्कार: नगद २५ हजार रुपैयाँ २. अनिल पटेल पुरस्कार: नगद २५ हजार रुपैयाँ ३. युवा क्रियाशील पत्रकारिता पुरस्कार: नगद १५ हजार रुपैयाँ

पुरस्कार छनोटको पूर्ण अधिकार हिन्दू पत्रकार संघलाई नै दिइएको छ। यसका साथै, आगामी वर्षदेखि संघमा आबद्ध सदस्यहरूको बीमाको व्यवस्थापन समेत पार्टीले गरिदिने प्रतिबद्धता वरिष्ठ नेता महाराजले व्यक्त गर्नुभयो।

हिन्दूवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड
कार्यक्रमका विशिष्ट अतिथि एवं हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले नेपाल जनता पार्टीले देखाएको यो उदारताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस दिनलाई संघको इतिहासमा एक ‘ऐतिहासिक दिन’ को रूपमा चित्रण गर्नुभयो।

अध्यक्ष रौनियारले आगामी निर्वाचनमा सबै हिन्दूवादी दलहरू आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हिन्दूवादी शक्तिहरू एक भएर चुनावमा होमिएमा सदनमा धर्मको पक्षमा बोल्ने प्रतिनिधिहरूको संख्या बढ्नेछ। यसका लागि हाम्रो संस्थाले विभिन्न दलहरूबीच ‘पुल’को भूमिका निर्वाह गर्न तयार छ र चाँडै यसको पहल गर्नेछ।”

भव्य सम्मान समारोह
नेपाल जनता पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय नेताहरू, जिल्ला कार्यसमिति र विभिन्न विभागका प्रमुखहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले सञ्चार क्षेत्र र धर्म-संस्कृतिको उत्थानका लागि पार्टी र पत्रकार संघबीचको यो सहकार्यले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM