२०८२ फाल्गुन २८ गते बिहीबार

वीरगञ्जमा डिजिटल ठगी र साइबर स्क्याम बढ्दो, राष्ट्र बैंकको सतर्कता अपील

 

नेपाल राष्ट्र बैंकले वीरगञ्ज क्षेत्रमा डिजिटल ठगी तथा साइबर स्क्यामका घटनाहरू तीव्र रूपमा बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्र बैंकले पछिल्लो समय विभिन्न माध्यम प्रयोग गरी ठगीका घटना बढिरहेको जानकारी गराएको हो।

राष्ट्र बैंकका अनुसार इन्भेस्टमेन्ट, रोजगारी, रिलेसनसिप, अनपेक्षित रकम, किनबेच, धम्की तथा नक्कली पहिचान (इम्पर्सोनेसन) प्रयोग गरी ठगी गर्ने प्रवृत्ति बढ्दो क्रममा छ। प्रस्तुत तथ्यांकअनुसार सजिलो पैसा कमाउने प्रलोभन, अस्वाभाविक भाषा, शंकास्पद लिंक वा एटेचमेन्ट, तुरुन्त निर्णय गर्न दबाब, असामान्य भुक्तानी माग र नयाँ Pay ID माग गर्नु ठगीका प्रमुख ‘रेड फ्ल्याग’का रूपमा देखिएका छन्।

राष्ट्र बैंकले सेवाग्राहीलाई युजरनेम, पासवर्ड, पिन तथा OTP कसैसँग पनि साझा नगर्न, बलियो पासवर्ड प्रयोग गर्न र मल्टि–फ्याक्टर अथेन्टिकेसन अपनाउन आग्रह गरेको छ। साथै इमेल, एसएमएस, मोबाइल, एप र नेटवर्क सुरक्षित राख्न तथा विभिन्न एप्सले माग्ने अनुमति (Permissions) र अन्तर–एप डेटा सेयरिङका जोखिमबारे सजग रहन सुझाव दिएको छ।

डिजिटल ठगीका कारण व्यक्तिगत सूचनाको दुरुपयोग, आर्थिक नोक्सानी र मानसिक असर पर्न सक्ने उल्लेख गर्दै राष्ट्र बैंकले ठगीबाट बच्न ‘Stop–Check–Protect’ सूत्र अपनाउन आग्रह गरेको छ। शंका लागेमा कुनै पनि रकम वा व्यक्तिगत जानकारी नदिन, प्राप्त सन्देश वा फोनको सत्यता जाँच गर्न र ठगी भइसकेको अवस्थामा तुरुन्त सम्बन्धित बैंक, प्रहरी तथा नियामक निकायमा जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ।

वित्तीय अनुशासन र डिजिटल सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM